जुम्लामा माटोको ढिस्कोमा पुरिँदा एक महिलाको मृत्यु, एक जना घाइते

जुम्ला । जुम्लामा घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिलाको ज्यान गएको छ भने अर्की एक जना घाइते भएकी छन् । चन्दननाथ नगरपालिका–९ स्थित उठिले क्षेत्रमा बिहीबार बिहान करिब ११ बजेतिर उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार माटो खन्ने क्रममा माथिबाट अचानक ठूलो ढिस्को खस्दा दुई महिला पुरिएका थिए । घटनामा ४७ वर्षीया कृष्णमाया तिमिल्सेना र अन्दाजी ४० वर्षीया तारा धर्ती घाइते भएका थिए ।

स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा तत्काल उद्धार गरी दुवैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते तारा धर्ती उपचारपछि घर फर्किएकी छन् ।

सामान्य देखिने घरेलु कामकै क्रममा भएको यस दुर्घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ । ग्रामीण क्षेत्रमा माटो खन्ने जस्ता परम्परागत काम गर्दा आवश्यक सतर्कता नअपनाउँदा यस्ता घटना दोहोरिने गरेको भन्दै सचेत रहन आग्रह गरिएको छ ।

 

सम्बन्धित शीर्षक