कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्ने जोडीले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको हो ।
पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि जुम्लाको चन्दननाथ मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि सारिएको चन्दननाथ भैरवनाथ गुठी समितिका सुब्बा रत्नप्रसाद आचार्यले बताए । उनले भने, ‘मन्दिरमा सुटुक्क विवाह गर्न पाइन्छ । उमेरको सोधिखोजी हुँदैन भन्ने भ्रम छ । जसका कारण अधिकांश उमेर नपुगेका जोडी मन्दिरमा विवाह गर्न चाहन्छन् । यो भ्रम चिर्नको लागि अनिवार्य जन्मदर्ता ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।’ अहिले उमेर पुगेका जोडी मात्र विवाह गर्न मन्दिरमा आउने गरेका छन् ।
मन्दिरमा कडाइ नहुँदा बालबालिका विवाह गर्न आउन सक्ने सम्भावना बढेको थियो । कसैले ललाइफकाइ गरेर विवाह गर्न ल्याउने पनि गरिएको देखिन्छ । कमै उमेरमा विवाह गरेर बालबालिकाको भविष्य नबिग्रियोस् भन्नका लागि मन्दिरमा पनि विवाह गर्दा अनिवार्य २० वर्ष नाघेको हुनुपर्ने व्यवस्था मिलाइएको हो । उमेर पुगेको जोडीले विवाह गर्न आउँदा कुनै समस्या भएन । तर, बालबालिका विवाह गर्दा कानुनी रुपमा अपराध नै हुने भएकोले अपराधजन्य क्रियाकलाप रोकथामका लागि गुठी समिति लागि परेको हो ।
बालबालिका मन्दिरमा विवाह गर्न आएपछि अनिवार्य रुपमा उनीहरुका अभिभावकलाई बोलाइन्छ । उनीहरुलाई उनीहरुको सबै कागजात ल्याउन लगाइन्छ । सबै हिसाबले बालबालिका ठहरिएको खण्डमा सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाइन्छ । सुब्बा आचार्यका अनुसार कम उमेरमा विवाह गर्न चाहने जोडीलाई मन्दिर प्रवेशमा प्रतिबन्ध गरिएको छ ।गुठिसमितिले सम्झाउँदा नमान्ने परिवारलाई नजिकैको प्रहरीको जिम्मा लगाउने गरिएको छ । मन्दिरभित्र गुठी समिति र प्रहरीले उनीहरुको हरेक कागजातको जाँच गर्छन् ।
अहिलेसम्म उमेर नपुगेका तीन जोडीलाई अभिभावकको जिम्म लगाइएको सुब्बा आचार्यले जानकारी दिए । ुउनीहरु बालविवाह गर्न आए । हरेक हिसाबले उमेर पुगेको देखिएन । उनीहरुको भविष्य डामाडोल हुने देखेपछि आ–आफ्नो घरमा अभिभावक बोलाएर फर्कायौं,ु आचार्यले थपे, ‘राम्रोसित पढ्नु, भविष्य बनाएर मात्र विवाहको तयारी गर्नु भनेर घर फर्कायौं । उनीहरु विवाह नगर्न मञ्जुर भएर घर फर्किए ।’
मन्दिरभित्र सुरक्षाका लागि बसेका प्रहरीले बालविवाह गर्दा भोग्नुपर्ने कानुनी सजायका बारेमा समेत सुझाउने गरेका छन् । स्वास्थ्य, शिक्षा र भविष्य बिग्रने बारेमासमेत सचेत गराउँदै आइएको छ ।पहिले घरपरिवारलाई कुनै जानकारी नदिएर बालबालिकामात्र विवाह आउने गरेको देखिन्थ्यो । अहिले विवाह गर्दा अनिवार्य रसिद काट्ने गरिएको छ । रसिदमा उनीहरुको पारिवारिक विवरण राख्ने गरिएको छ । ५ सयदेखि दुई हजारसम्मको रसिद काट्ने गरिएको गठी समितिले जनाएको छ । नाजुक अवस्थाको जोडीलाई नि:शुल्क विवाह गरिदिने चलन बसालिएको छ । सबै प्रक्रिया पुगेर आएको जोडीलाई विवाहको सामाग्री मन्दिरले उपलब्ध गरिदिन्छ । चालु आर्थिक वर्षदेखि हरेक जोडीको अभिलेखसमेत राख्ने गरिएको छ । ुबालविवाह रोकौं, सभ्य नागरिकको परिचय दिऔुं भन्ने मान्यता स्थापित गराउन थालिएको सुब्बा आचार्यले बताए ।
विवाह गर्ने जोडीमाथि शंका लाग्ने बित्तिकै अभिभावक बोलाइन्छ । बालविवाह रोक्न मन्दिरबाट अभियान सुरु भइसकेको छ । यहाँ दलित परिवारका युवायुवतीको पनि विवाह गर्न थालिएको छ ।मन्दिरमा विवाह गर्न देशैभरिका जोडी आउने गरेका छन् । चालु आर्थिक वर्षमा मात्र ३० जोडीले मन्दिरमा विवाह गरेको तथ्यांक छ ।