बिहीबारदेखि परेको हिमपातका कारण जुम्ला ढाकिएको छ। जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकाले हिउँले सेताम्य भएका छन्। जुम्ला हिउँले ढाकिएपछि जनजीवन निकै प्रभावित बनेको छ। बिहीवार बिहानदेखि एक्कासी बादल लागेर हिउँ पर्न थालेको थियो।
सदरमुकाम आसपासमा झण्डै आधा फिट हिउँ जमेको छ। उच्च हिमाली भेगतिर दुई फिटसम्म हिउँ परेको स्थानीय बताउँछन्। हिउँ परेपछि अत्यधिक चिसो बढेको छ। चिसोका कारण जनजीवन निकै प्रभावित बनेको छ।
हिउँले विद्यालयको पठनपाठन रोकिएको छ। हवाइ तथा सडक यातायात पुर्णरुपमा ठप्प हुँदा यात्रु मर्कामा परेका छन्। यो हिउँले किसानलाई निकै फाईदा पुर्याएको छ। सरकारी तथा गैरसरकारी कार्यालय खुल्न सक्ने अवस्थामा छैनन्। हिउँदे विदाको अवसर पारेर खुलेको ट्युसन तथा कोचिङ सेन्टर चल्न सकेका छैनन्।
हिमाली क्षेत्रमा रहेका बस्तीतिर गाइबस्तुलाई दानापानी गर्न पनि असहज भइरहेको छ। चिसोले बालबालिका देखि बुढाबुढी बढी प्रभावित छन्। कर्णालीको हुम्ला,मुगु,जुम्ला,डोल्पा र कालिकोटको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।
भारी हिमपात भइरहेकोले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्थानीय प्रशासनले अपिल गरेको छ। तिला गाउँपालिका ९ का मोतिराम बुढा हिमपातले बालीनाली सप्रिने बताउँछन्। स्याउ बगैँचा व्यवस्थापनका लागि यो हिउँले निकै राहत मिल्ने किसान बताउँछन्।
हिउँ आउदै हिउँ खेल्न स्थानीय युवायुवती सदरमुकाम खलंगामा निस्केका छन्। भारी हिमपात भएकोले अब बिस्तारै तातो बढ्दै जाने विश्वास गरिएको छ। यो वर्ष पुस महिनामा दुई पटक र माघ महिनामा एक पटक हिउँ परेको हो। हिउँले सिंगो कर्णाली सेताम्य भएको छ।