जुम्लामा मास्क बैंक स्थापना,नागरिक खुसी

कोरोना संक्रमणको दर बढ्न थालेपछि जुम्लामा मास्क बैंक स्थापना भएको छ । मास्क बैंकबाट मास्क नहुनेले मास्क लिनेछन् । मास्क हुनेले मास्क राखेर जानेछन । कोही पनि नागरिक मास्क विहिन नहोस भन्नका लागि सदरमुकाम खलंगाको बालमन्दिर नजिकै मास्क बैंक स्थापना भएको हो । ‘मास्क हुनेले मास्क दिनुस,नहुनेले मास्क लिनुस’ भन्ने मान्यता सहित बैंक स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी पसाईले जानकारी दिइन् ।
सदरमुकाम खलंगाको मुख्य बजारमा मास्क बैंक स्थापना भएकोले मास्कको प्रयोग बढ्ने अनुमान गरिएको छ । सरकारले शुरु गरेको नेपाल मास्क अभियान अन्तरगत जूम्लामा मास्क बैंक स्थापना गरिएको उनले बताइन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापनको सक्रियतामा मास्क बैंक स्थापना भएको हो । मास्क बैंकलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सहित सरोकारवालाहरुको समन्वय भइरहेको छ ।
मास्क किन्न नसक्ने र हतारमा मास्क लगाउन बिर्षेका नागरिकलाई लक्षित गरेर मास्क बैंक स्थापना गरिएको हो । मास्क नहुनेलाई मास्क हुनेले सघाउने बानीको विकास गर्न पनि मास्क बैंक प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी प्रर्साइ बताउँछिन । अब बजारमा आउने सबैको मुखमा मास्क हुनुपर्छ । मास्क किन्न नसक्नेले बालमन्दिरमा गएर मास्क लगाउन सक्नेछन । हुनेले मास्क बंैकमा मास्क प्रदान गर्न सक्नेछन । उनले भनिन्,‘कोरोना रोकथाम तथा नियन्त्रण संग जोडिएको सही रुपमा सदुपयोग गर्नुपर्छ । मास्कको प्रयोग गरेर कोरोना भगाउन सबैले अठोट गर्नुपर्छ । मास्क बैंकको मक्सद यही नै हो । ’
धेरै जसो नागरिकले मास्क भएर पनि लगाउँदैनन । केहीले मास्क किन्ने रकम नहुँदा मास्क पाउँदैनन । यो बैंक मास्क नलगाउने र मास्क किन्न नसक्ने सबै प्रति लक्षित रहनेछ । ’ जुम्लामा स्थापना भएको मास्क अभियानले सकरात्मक सन्देश दिएको नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही बताउँछन । उनले भने,‘जुम्लामा मास्क अभियान आवश्यक थियो । स्थापना भइसक्यो । अब मास्क सबैले प्रयोग गरौँ । हुनेले मास्क बैंकमा मास्क प्रदान गरौँ । कोरोना संक्रमण रोक्न आ आफ्नो ठाउँबाट जुटौँ । ’
मास्क बैक सशस्त्र प्रहरीको निगरानीमा हुनेछ । सशस्त्र प्रहरीले मुख्य बजार क्षेत्रमा प्रवेश गरेका मास्क नहुनेलाई मास्क उपलब्ध गराउनेछ । मास्क बैंकको व्यवस्थापन जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । मास्क बैंक स्थापनाले सकरात्मक संन्देश प्रवाह भइरहेको सशस्त्र प्रहरी बलका एसपी गगन श्रेष्ठ बताउँछन । उनले भने,‘मास्क बैंकबाट मास्क दिने र लिने क्रम बढिरहेको छ । यो राम्रो अभ्यासको शुरुवात भएको हो । ’
मास्क बैंकका लागि शुरुमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले मास्क राखेको छ । संस्था र व्यक्तिले पनि बैंकमा मास्क दिन थालिसकेका छन । हरेक नागरिकलाई मास्क अनिवार्य भन्ने मान्यताका साथ मास्क बैंक राखिएको हो । अब कोही पनि मास्क नभएर लगाउन नसकेको बाहना गर्न पाउने छैनन ।
मास्क बैंकमा मास्क जम्मा गर्न जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्था, व्यापारी,व्यवसायी, उद्योगी लगायत सबै सहयोगी मनहरुलाई अपिल गरिएको छ । मास्क बैंक खोल्दा पनि मास्क नलगाउने नागरिकलाई कार्वाही हुने स्थानीय प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी पर्साइले मास्क बैंकको भरपुर सदुपयोग गर्न आग्रह गरिन । मास्क बैंकमा धेरै मास्क एकैटपक राख्न पाइनेछ । तर एकै व्यक्तिले एकै पटक धेरै मास्क लिन पाउनेछैन । आफुलाई आवश्यक पर्ने एक मास्क मात्र प्रयोग गर्नुपर्नेछ । जिल्लालाई मास्कमय बनाएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क बैंक कोसेढुंगा साबित हुने स्थानीय बताउँछन ।
सदरमुकाममा मास्क बैंक स्थापना भएपछि स्थानीय खुसि छन । उनीहरुले अब बैंकबाट लिएको मास्क अनिवार्य रुपमा नियमित रुपमा प्रयोग गर्ने बताएका छन । हरेक स्थानीय तहमा मास्क बैंक स्थापना गरेर सहजै रुपमा नागरिकलाई मास्क पाउने बातावरण निर्माण गर्न आग्रह गरिएको छ ।
अहिले गाउँमा बाँडिने मास्क दुरुपयोग भइरहेको छ । मास्क प्रयोग नगरेर फ्याक्ने गरिएको छ । बैंक स्थापना भएपनि आवश्यकता अनुसार मास्क लिन पाउनेछन । मास्क बैंक स्थापना गर्दै कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी प्रर्साइले मास्कको नियमित प्रयोग संगै, नियमित सावुनपानीले हात धुन,सेनिटाइजरको प्रयो गर्दै,सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्न अपिल गरिन । उनले अबको भेरिन्ट बालबालिकामा प्रत्यक्ष प्रभाव पार्ने भएकोले बालबालिका बचाउन पनि उच्च सतकर्ता अपनाउनु पर्नेमा जोड दिइन ।
मास्क छैन ? मास्क हरायो ?मास्क फोहोर भया । अब मास्क बैंकबाट लिनुहोस । कोरोना संक्रमणबाट आफु बच्नुहोस, अरुलाई पनि बचाउनुहोस भने मास्क बैंकको बोर्डमा लेखिएको छ । कोरोना संक्रमणका लक्षण, अपनाउनु पर्ने सावधानी र रोकथाम तथा नियन्त्रणका बिषयमा सचेतना सामाग्री राखिएको छ । बैंकको दयाँ साइटमा मास्कदाताको नामावली राख्ने प्रबन्ध गरिएको छ । नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापा,सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ, नेपाल प्रहरीका डिएसपी दानबहादुर थापा,प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले नागरिकलाई मास्क लगाइदिएर मास्क बैंक स्थापना भएको घोषणा गरेका थिए ।

सम्बन्धित शीर्षक