सुर्खेतमा ११ फरार प्रतिवादी पक्राउ

सुर्खेत।  कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले ११ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आइतबार नौ र साेमबार दुई गरी ११ फरार प्रतिवादीलाई सो टोलीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार सम्बन्ध विच्छेद, चेक अनादर र जुवा मुद्दाका एक/एक, घरेलु हिंसाका दुई, अंशबन्डा मुद्दाका चार गरी जम्मा नौ जना फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको छ । त्यसैगरी, साेमबार पक्राउ पर्नेमा कुटपिट मुद्दाका एक र जुवा मुद्दाका एक रहेका छन् । पक्राउ परेका सबै फरार प्रतिवादीलाई जिल्ला अदालत सुर्खेतमा बुझाइएको उनले जानकारी दिए ।

अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी थालेको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षको पहिलो साउन महिनाको तीन सातामा ३७ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतमा बुझाइएका प्रतिवादीहरुले २२ वर्ष ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्नुपर्ने छ । उनीहरुबाट रु दुई लाख आठ हजार चार सय ५० जरिवाना असुल भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सम्बन्धित शीर्षक