कर्णाली प्रदेशको राजधानी वीरन्द्रनगर नगरपालिका ९ सुर्खेतस्थित लाटीकोईलीमा ईसिजी तथा भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ ।
वडापालिकाले लाटीकोईली स्वास्थ्य चौकीमा आजदेखि विशेषज्ञसहित ईसिजि र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याएको हो । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको दक्षिणतर्फ अवस्थित सात हजार २२७ जनसंख्या रहेको लाटीकोईलीमा स्वास्थ्य सेवा सञ्चालनले जनतामा खुशी छाएको वडाध्यक्ष सुरेश मानन्धरले जानकारी दिनुभयो ।
नगरप्रमुख देवकुमार सुवेदीले स्रोत साधन र दक्ष कामदारको अभावमा पनि लाटीकोईली स्वास्थ्य चौकीले माथिल्लो सेवा प्रवाह गरिरहेको बताउनुभयो । “स्वास्थ्यमा यहाँका नागरिकहरुलाई अब सहज पहुँच हुनेछ,” उहाँले भन्नुभयो, “हामी जनप्रतिनिधिहरुले गरेको कार्यप्रति सुसूचित हुन पाउनु जनताको अधिकार हो ।” उपप्रमुख मोहनमाया ढकालले आफूहरु निर्वाचित भएदेखि नै स्वास्थ्य सेवालाई नै पहिलो प्रथामिकतामा राखेको बताउनुभयो ।
अध्यक्ष मानन्धरले हाडजोर्नी विशेषज्ञ डा.शुभ श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा.कृतिका थापा र रेडियोलोजिष्ट विशेषज्ञ डा.डिबि गुरुडले प्रत्येक हप्ता निशुल्क सेवा दिने र निकट भविष्यमा नै जनरल फिजिसियन र छालारोग विशेषज्ञद्वारा सेवा प्रदान गरिने जनाउनुभयो ।
अधिवक्ता तथा स्थानीय विद्याभूषण मानन्धरले विशेषज्ञ स्वास्थ्य सेवा सुचारु भएसंगै यस क्षेत्रका स्थानीयहरु थप उपचारका लागि प्रदेश अस्पताल जानुपर्ने बाध्यता हटेको बताउनुभयो । अर्का अधिवक्ता ध्रुवकुमार श्रेष्ठले स्वास्थ्य चौकीलाई आफ्नो तहबाट आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।