खोटाङमा एकै दिन २१ जना संक्रमित थपिए

खोटाङमा एकै दिन २१ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार ४० जनाको एन्टीजेन परिक्षण गर्दा हलेसी तुवाचुङ नगरपालिकामा ११ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना, साकेला गाउँपालिकामा ४ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पूष्टी भएको हो ।

यससँगै जिल्लामा संक्रमितको संख्या ४९ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए । हलेसी तुवाचुङ नगरपालिकामा एकै दिन ११ जना संक्रमित थपिएका हुन् ।

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संक्रमितको संख्या २४ जना, साकेला गाउँपालिकामा १२ जना, हलेसी तुवाचुङ नगरपालिकामा ११ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पूष्टी भइसकेको छ । संक्रमितमध्ये ४५ जना होमआइसोलेसनमा र ४ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ ।

सम्बन्धित शीर्षक