बाँकेमा तीव्र रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण अनियन्त्रित बनेको छ । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु हुने क्रम रोकिएको छैन् । कोरोना संक्रमणबाट शनिबार(आज) पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र २ जना पुरुष रहेका छन् ।
नेपालगन्ज–२ बाँकेका ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । सोही दिन मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका उनको शनिबार बिहान १० बजेर ३० मिनेटमा मृत्यु भएको हो ।
यस्तै जानकी–३ बाँकेकी ५५ वर्षीया महिलाको पनि उपचारका क्रममै मृत्यु भएको छ । यही वैशाख २० गते भेरी अस्पतालमा पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । तीन दिन होमआइसोलेशनमा बस्दा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनी बैशाख २३ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा कुनै सुधार नभएपछि शनिबार बिहान १० बजेर ३० मिनेटमा मृत्यु भएको हो ।
नेपालगन्ज–४ बाँकेका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा यही बैशाख १७ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो । त्यसपछि बैशाख १९ गते भेरी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार बिहान ९ बजे मृत्यु भएको हो ।
यसैगरी नेपालगन्ज–१४ बाँकेकी ३८ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको शनिबार बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । भारतको लखिमपुरमा यही बैशाख १४ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी बैशाख १६ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् ।
नेपालगन्ज–१० बाँकेकी ३८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार बिहान ४ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो । बागेश्वरी ल्याबमा पिसिआर परिक्षण गराउँदा उनलाई बैशाख १२ गते कोरोना पोजेटिभ भएको थियो । त्यसपछि भोलीपल्ट उनी शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिईन् ।
‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७७ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १ सय ३१ जनाको मृत्यु भएको उनले बताए । यसैबीच बाँकेमा शनिबार नै १ सय ७८ महिला र २ सय ३१ पुरुष गरी ४ सय ९ जना कोरोना भाईरसबाट निको भएर डिस्चार्ज भएको फोकल पर्सन ओलीले जानकारी दिएका छन् ।