लक्ष्मी न्यौपाने,जुम्ला ।
आगो लागेर सुकेको जुम्ला पातारासी ६ स्थित गैडापातल सामुदायिक वन र नौमुडे सामुदायिक बनमा बृक्षारोपण गरिएको छ । घोडासिन गाउँस्थित सामुदायिक बनहरुमा झण्डै ४ हजार सल्लाका बिरुवा रोपण गरिएको हो । जलेको वन,रुन्छ मन र विरुवा रोपेर जोगाउँ वन भन्ने नारासहित सामुदायिक वन उपभोक्ता समितिले बृक्षारोपणको काम गरेको थियो ।
नजिकैको वनमा निकै बाक्लो मानिएका सल्लाका विरुवाहरु निकालेर सामुदायिक वन क्षेत्रमा रोपिएको नौमुडे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जानु कठायतले जानकारी दिनुभयो । उहाँका अनुुसार गत वैशाखमा वनमा आगलागी हुंदा सयौं विरुवाहरु जलेर नष्ट भएका थिए ।
सर्वसाधारणको सक्रियता र वन समितिको पहलमा हरियो वन बनाउने कार्यको प्रारम्भ भएको गैडापातल सामुदायिक वनका अध्यक्ष गीत बुढाले बताउनुभयो । आगलागीले जलेको वनमा विरुवा रोपेर हरियाली बनाउने कार्यमा जुट्न पाउदा उत्साह थपिएको स्थानीयले बताएका छन ।
विरुवा रोपेर सामुदायिक वनलाई पहिलेकै अवस्थामा फर्काउने अवस्थामा पुगेका छौं,उनले भनिन्,‘विरुवा कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ । विरुवाको रेखदेख र संरक्षणको खाँचो छ ।’ पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया बोहोरा पनि विरुवा रोप्न सामुदायिक वनहरुमा पुग्नु भएको थियो । । उहाँले हरियो वन पालिकाको धन बनाउने सन्दर्भमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
स्थानीयको सक्रियता र वन समितिको भुमिका निकै राम्रो देखिएको छ,उहाँले भन्नुभयो,‘अर्को निर्वाचन हुनुअघि सम्म यी दुबै सामुदायिक बन हराभरा भएको देख्ने चाहना छ । जसका लागि पालिका सरकार जस्तोसुकै साथ दिन तयार छ ।’
वन संरक्षणको लागि नौमुडे सामुदायिक वन र गैडापातल सामुदायिक वनलाई १÷१ लाख रूपैयाँ उपाध्यक्ष कोषबाट बजेट उपलब्ध गराउने घोषणा समेत सो अवसरमा गर्नुभयो । वृक्षरोपण गर्नु महत्वपूर्ण काम हो,उहाँले भन्नुभयो,‘संरक्षण र त्यसबाट उपलब्धि प्राप्त गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’
घोडासिन गाउँका समाजसेवी जनक बुढाले वन उपभोक्ता समूहको मेहनत, जनप्रतिनिधिको सहयोग र वन कार्यालयको प्रविधिसहित त्रिकोणात्मक सहकार्यबाट मात्र सामुदायिक वन जोगाउन सकिने दाबी गर्नुभयो । अर्का समाजसेवी युवा ऐनबहादुर कठायतले वनमा गरिएको बृक्षरोपण जोगाउन सबैको हातेमालो हुनुपर्ने तर्क गर्नुभयो । एकै दिनमा ४ हजार बिरुवा रोप्नु सामान्य बिषय होइन्,उहाँले भन्नुभयो,‘अब चार हजार बिरुवा जोगाउनु चुनौति हो । वन समिति सचेत हुनुपर्ने देखिन्छ ।’ उहाँले स्थानीय नागरिक,वन उपभोक्ता समितिहरु,जनप्रतिनिधिहरु प्रत आभार व्यक्त गर्नुभयो ।
बृक्षारोपण गरिसकेपछि सामुहिक खाजा खानुका साथै देउडा खेलेर सामुदायिक वनमै रमाइलो गरिएको थियो ।