जुम्लाको चन्दननाथ नगरपालिका साक्षर नगर घोषणा भएको छ । नगरमा बस्ने ९८.१९ प्रतिशत नागरिक साक्षर भएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले औपचारिक रुपमा नगरलाई साक्षर घोषणा गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री भण्डारीले कर्णालीमा निरक्षर व्यक्ति नभएको बताउनु भयो ।
प्रजातन्त्रको बेला पनि अन्न किनबेच गर्दा हरहिसाब राख्न सक्ने ज्ञान भएका व्यक्तिहरु कर्णालीका भएकाले निरक्षर भन्न नमिल्ने उहाँको भनाइ छ । जुम्लाका दक्ष जनशक्ति देशभर छरिएको भण्डारीले बताउनु भयो । कर्णालीका आमाहरु हाल भिडियो कल गर्न र औँला भाँचेर हिसाब राख्न सक्ने भएकाले निरक्षरता पहिले नै नभएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, कर्णाली हिजो पनि निरक्षर थिएन, आज पनि छैन र भोलि पनि हुने छैन् ।
सरकारको नीतिलाई पछ्याउँदै नागपालिकाले साक्षर घोषणा गरेकोमा उहाँले धन्यवाद दिनु भएको छ । जुम्ला उतिबेला देखि बडाहाकिम बनाएर पठाउने जिल्ला भएकाले निरक्षर हुन नसक्ने मन्त्री भण्डारीले बताउनु भयो । यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले साक्षर नगरबासीको पहिचान बनाउन सफल भएकोमा धन्यवाद दिनु भएको छ ।
साक्षर नगर घोषणाले शैक्षिक जागरणको अभियानको सुरुवात गर्न सहज भएको उहाँले बताउनु भयो । नगरपालिका भित्रका कुल २१ हजार ३६ जना जनसंख्या छ । उक्त जनसंख्या मध्ये ३ सय ६० जना निरक्षर रहेकोमा साक्षर कक्षा सञ्चालन गरि उनिहरुलाई घोषणकै अवसरमा साक्षरताको प्रमाण पत्र दिईएको छ ।
आवश्यक मापदण्ड पूरा भएपछि सिँगो नगरपालिकालाई नै साक्षर घोषणा गरिएको नगर प्रमुख राजुसिंह कठायतले बताउनु भयो । साक्षर नगरका बासिन्दा भएकोमा नगर प्रमुख कठायतले खुसी व्यक्त गर्न भयो । सरकारले तय गरेका मापदण्ड पुरा गर्ने मात्र नभई साक्षर, सभ्य र शिक्षित नागरिक बसोबास गर्ने नगरपालिकाका नागरिक बन्ने अभियानले सफलता पाएको कठायतको भनाइ छ ।
यस्तै नगर उपप्रमुख रामदेविक खड्काले शैक्षिक अभियानलाई अघि सार्दै शतप्रतिशत नागरिक शिक्षित बनाउने अभियानमा सहभागि हुने बताउनु भयो । नयाँ ढाँचामा साक्षरता अभियानलाई संचालन गर्ने उहाँले प्रतिवद्धता गर्नु भएको छ । जुम्ला निरक्षर जिल्ला भित्र पर्नु सबैको लागि दुर्भाग्य भएको खड्काले बताउनु भयो ।
साक्षर नगर घोषणा कार्यक्रममा रत्नचुण्डेश्वर मावि बोहोरागाउँका अध्यक्ष नविन न्यौपाने उत्कृष्ट अध्यक्षमा सम्मानित हुनु भएको छ । यस्तै उत्कृष्ट शिक्षकमा कर्णाली मा.वि. अनामनगरका प्रधानाध्यापक मिनराज शर्मा, चन्दननाथ नमूना मा.वि.का शिक्षक समृता बुढा, कर्णाली मा.वि. अनामनगरका शिक्षक दुर्ग बस्नेत सम्मानित हुनु भएको छ । यसैगरी, सर्वउत्कृष्ट प्रधानाध्यापकमा मालिका आधारभुत विद्यालयका प्रधानाध्यापक हेमन्त वहादुर महत सम्मानित हुनु भएको छ ।
उत्कृष्ट विद्यालय सहयोगिमा भगवति आधारभुत विद्यालय जातिभिडका रतन थापा सम्मानित हुनु भएको छ । २०८० को एसईईमा उत्कृष्ट नम्बर ल्याउने, चन्दननाथ नमूना मा.वि. का लक्ष्मी बुढथापा, रत्नचुण्डेश्वर मा.वि.का सिर्जना गिरी र जनता नमूना मा.वि.का विधान महत पुरस्कृत हुनु भएको छ ।
यस्तै २०८० मा नगर स्तरीय परीक्षामा उत्कृष्ट नम्बर ल्याउने जनता नमूना मा.वि.का क्रिस्टिना खत्री, जनता नमूना मा.वि.कै अक्सफोर्ड आचार्य र जनता नमूना मा.वि.कै प्रशंसा श्रेष्ठ पुरस्कृत हुनु भएको छ । उनिहरुलाई करकटाई नगद ३ हजार सहित प्रमाण पत्र प्रदान गरिएको चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाँईले बताउनु भयो ।
उहाँका अनुसार, साक्षर नगर घोषणाले निरक्षर नगरबासि कोहि पनि नभएको जानकारी गराउनु भयो । चन्दननाथ नगरपालिका साक्षर घोषणा हुनेमा दोस्रो स्थानीय तह हो । यसअघि हिमा गाउँपालका भदौ २० गते साक्षर घोषणा भईसकेको छ ।