जुम्ला किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरा बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरेको छ । तर किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन । केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी ५० रुपैयाँका दरले स्याउ बेचेका छन ।
त्यो स्याउ सुर्खेत, नेपालगंजका बजार सम्म पुगिसकेको छ । स्याउको पुर्ण रुपमा कलर भरिएको छैन । गुलियो मात्रमा पनि कम छ । काँचो स्याउ लैजादा अमिलो हुने र जुम्ली स्याउको गुणस्तरता माथि प्रश्न उब्जने खतरा बढेको कृषि प्राविधिकहरु बताउँछन । जुम्ला स्याउको राजाधानी हो । स्याउको पहिचानको जिल्ला जुम्ला हो । यहाँका हरेक घरमा न्युनतम २५ स्याउका विरुवा देखि एक हजार बढि विरुवाका स्याउका बगैँचा छन । यहाँका प्रमुख आमदानीको स्रोत मानिएको स्याउ अपरिपक्क हुँदै टिप्नाले समस्या देखिन थालेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा भदौ १० गते अगावै स्याउ नटिप्न किसानलाइ आग्रह गरिएको बताउँछन । बजारमा जुम्ली स्याउको पहिचान निकै राम्रो छ । पुर्ण रुपमा पाकेको स्याउ लैजादा बजारीकरणमा समस्या पनि आउँदैन । उनले भने,‘नपाकेको स्याउ बजार सम्म पुर्याउनु किसानका लागि फाइदाजनक हुदैन । यसमा सबै किसान सचेत हुन जरुरी छ । ’ उनले नपाकेको स्याउ लैजान नदिन सडक सञ्जाल संग जोडिएका स्थानीय सरकार र प्रहरी चौकीलाई भनिएको बताए । किसान र व्यापारीको अटेरीपनका कारण जुम्लाको स्याउको पहिचान गुम्ने खतरा देखिएको प्रमुख देवकोटा बताउँछन ।
भदौ महिनाको दोस्रो साता देखि मात्र जुम्ली स्याउ परिपक्क हुन्छ । एउटा स्याउमा हुनु पर्ने गुलियोपनाले पुर्णता पाउँछ । स्याउमा पुरै कलर भरिन्छ । हेर्दे आकर्षक देखिने जुम्ली स्याउ हरियो कलरमा, टर्रो स्वादमा बिक्रि हुन थालेपछि समस्या हुन थालेको हो । जिल्ला बाहिर स्याउ निर्यातका लागि सम्बन्धित गाउँपालिका तथा वडापालिकाको सिफारीस अनिवार्य हुनुपर्छ । यहाँका स्थानीय तहले स्याउ पाके नपाकेको ख्याल नराखेर सिफारीस दिनाले समस्या भइरहेको छ ।
हरेक बर्ष नपाकेको स्याउ निर्यात गर्न सिफारीस नदिनु होला भनिराखेका हुन्छौँ । तर स्थानीय सरकारले धमाधम सिफारीस दिन्छन् । जुम्ली स्याउको पहिचान बचाउन स्थानीय सरकार संवेदनशिल नबनेको सरोकारवाला बताउँछन । यो रोग जुम्लाको पहिलै देखिको रोग हो ।
अहिले जुम्ली स्याउ सुर्खेत तथा नेपालगंजका बजार सम्म पुगिसकेको छ । व्यापारी स्याउ खोज्दै बगैँचामै पुग्छन । बगैँचामै पुगेको व्यापारीलाई किसानले स्याउ सहजै रुपमा दिने गरेका छन । कृषि विकास कार्यालय जुम्लाका अनुसार बगैँचामै किसानले ५० देखि ६० रुपैयाँ सम्म प्रतिकिलो स्याउ बेचिरहेका छन ।
यहाँको स्याउ सुर्खेत नेपालगंजमा १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । व्यापारीले किसानबाट स्याउ लगेर दोब्बर फाइदा अशुलीरहेका छन । तर यहाँका किसान नपाक्दै स्याउ ब्यापारीलाई दिएर पहिचान धरापमा पार्दैछन । परिपक्क भइसकेपछि टिपेको स्याउको मुल्य अझै बढ्न सक्ने कृषि प्राविधिकहरुले अनुमान गरेका छन । यहाँ स्थानीय रेड,गोल्डेन,जनाथन र रोयल जातको स्याउ फल्छ । उन्नत जात तर्फ रेड र गोल्डेन जातको स्याउ फल्छ । उन्नत जातको स्याउ पुर्णकलर भरिसकेपछि मात्र टिपिन्छ । तर स्थानीय जातको स्याउँ नपाक्दै टिप्न थालिएको छ ।
स्याउले बर्षेनी करोडौँको आमदानी भित्र्याउछ । तर स्याउको गुणस्तरता बारेमा किसानले चासो राखेको पाइदैन । स्थानीय जीवनबहादुर बुढा जुम्ली स्याउ काँचो टिप्ने परीपार्टीको अन्त्य हुनु पर्ने बताउँछन । उनले भने,‘नपाकेको स्याउ टिप्नु किसानको कमजोरी हो । नपाकेको स्याउ लैजानु व्यापारीको कमजोरी हो । नपाक्दै स्याउ निर्यात गर्न दिनु स्थानीय सरकारको कमजोरी हो । त्रिपक्षीय कमजोरीका कारण यहाँको स्याउको भविष्य अन्यौलमा परेको हो ।’
अहिले जुम्लामा ३ हजार ८ सय हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेति भइरहेकोछ । कृषि कार्यालयका अनुसार बर्षेनी स्याउको क्षेत्रफलमा बृद्धि भइरहेकोछ । एक हजार ६ सय हेक्टरमा लगाइएको स्याउले उत्पादन दिन्छ । यो बर्ष १६ करोड बरावरको स्याउ बिक्रि हुने अनुमान गरिएको छ । जुम्ली स्याउको पहिचान बचाउन र स्याउको महत्वलाई विस्तार गर्न पाकेको स्याउ मात्र टिप्न कृषि प्राविधिकहरु आग्रह गर्छन ।
काचो स्याउ निर्यात रोक्न स्याउ किसान धनबहादुर परियारले आग्रह गरे । उनले भने,‘ठुला किसान र अगुवा किसान भनिएकाहरुबाटै नपाकेको स्याउ निर्यात भइरहेको छ । साना किसानको स्याउँ बगैँचामै छ । उनले भने,’‘साना स्याउ किसानलाई मार पर्ने गरि ठुला किसानले गरेको यो गैरजिम्मेवारी कार्य रोक्नु जरुरी छ । ठुला किसानको मारमा साना किसान पर्नदिनु हुदैन । ’ परिपक्क स्याउ विक्री गर्दा आम्दानी राम्रो हुन्छ । पहिचान पनि बढ्छ । उनले भने,‘ स्थानीय जातको स्याउ भदौ दोस्रो साता पछि र उन्नत जातको स्याउ असोज महिनामा टिप्दा उपयुक्त मानिदै आएको छ ।
काँचो स्याउँ निर्यात हुन थालेपछि प्रहरी चौकीमा रोक्न लगाएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा बताउँछन । तर कृषि कार्यालयको परिपत्रको अवज्ञा गर्दै किसानले काँचो स्याउ टिपेका छन । व्यापारीले काचो स्याउ बजार सम्म लिइरहेका छन । यो दुभाग्र्यपुर्ण कार्य हो । स्याउ बजारीकरण ऐन नभएका कारण नियमन गर्न गाह्रो भइरहेको छ । नियमनकारी निकायलाई नियमन गर्न अफ्ठयारो बनिरहेको छ ।