तातोपानी ६ रावतबाडा गाउँमा एकैपटक २१ जनाले कोरोना जितेपछि गाउँमा खुसियाली

एकैपटक गाउँका २१ जनाले कोरोना जितेर घर फर्किएपछि जुम्लाको तातोपानी ६ रावतबाडा गाउँमा खुसियाली छाएको छ । कोरोना संक्रमण फैलँदा गाउँमा निराशा छाएको थियो । गाउँभरी त्रास थियो । गाउँ नै सील गरिएको थियो । कुनै पनि बाहिरको मान्छे गाउँमा प्रवेश पाउँदैनथ्ये । गाउँभित्रको व्यक्ति बाहिर निस्कन पाउँदैनथ्यो । संक्रमित सबै गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बसेका थिए । गाउँमा एक साताका लागि सील गरिएको थियो ।
गाउँभरी कोरोनाको त्रास थियो । गाउँले कोरोनाले कसैको ज्यानमा तलमाथी नहोस भनेर प्राथना गरिरहेका थिए । एकै पटक २१ जनामा कोरोना संक्रमण भएपछि गाउँमा सन्नाटा छाएको थियो । तर संक्रमित निको भएर लर्को लागेर घर फर्किदा निकै खुसि थिए ।
तातोनापानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाइँ एकै पटक २३ जना निको भएर घर फर्किदा निकै खुसि भएको बताउँछन । उनले भने,‘धमाधम गाउँमा संक्रमित भेटिन थालेपछि निकै चिन्तित थियौँ । अब निको भएर घर फर्कने लहर शुरु भएकोले उत्साहित छौँ ।’
कोभिड अस्पतालमा रहेको आइसोलेसनबाट एकै दिन तातोपानी ६ का २१ जना र तातोपानी ७ का २ जना संक्रमित कोरोना जितेर घर फर्किएको उनले बताए ।
कोरोना जितेर घर फर्किने संक्रमितको गाउँपालिकाले भव्य रुपमा विदाइ गरेको थियो । संक्रमण देखिदा आइसोलेसनमा आउन मानिरहेका थिएनन । तर निको भएर घर फर्कदा गाउँपालिकाले गरेको व्यवस्थापनको प्रसंसा भइरहेको थियो । आइसोलेसनमा बस्दा आफ्ना पनि सुरक्षा हुने र आफन्तको पनि सुरक्षा हुने भन्दै आइसोलेसन बनाउने काम निकै प्रभावकारी भएको अनुभुति संक्रमितले सुनाइरहेका थिए ।
तातोपानी गाउँपालिकाले ४७ जना संक्रमितलाइ आइसोलेसनमा राखेको थियो । गास र बासको व्यवस्था गर्नुका साथै निरन्तर स्वास्थ्यकर्मी तथा चिकित्सकको निगरानीमा राखेको थियो । स्वास्थ्य संयोजक चौलागाइले भने,‘कोरोना संक्रमण एकाएक फैलँदा गाउँमा त्रास थियो । अहिले निको भएर घर फर्कदा आत्मबल मिलेको छ । आत्म विश्वास र सावधानीले कोरोना सहजै जितिन्छ भन्ने सन्देश गाउँबस्तीमा फैलिइएको छ । ’
आइसोलेसनमा हरेक दिन जनप्रतिनिधि,कर्मचारी, स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परिक्षण गर्ने,भरोसा दिने र व्यवस्थापनमा देखिएको अभाव परिपुर्ति गर्ने गरिएको थियो । ठुलो संख्यामा संक्रमित आइसोलेसनमा राखेर औषधि उपचार, निगरानी राख्ने तातोपानी पहिलो गाउँपालिका हो । जिल्लाका एक नगरपालिका सहित ७ गाउँपालिकामा आइसोलेसन सेन्टर बनेपनि प्रयोगमा आउन सकेनन ।
तर तातोपानी गाउँपालिकामा संक्रमितको घरघरमा पुगेर आइसोलेसनमा बस्नको लागि प्रेरित गरिएको थियो । उपाध्यक्ष गंगादेवी उपाध्याय बल्ल जनप्रतिनिधि भएको अनुभुति भएको बताउँछिन ।
उनले भनिन्,‘ कोरोनाले जनजीवन अस्तव्यस्त छ । आइसोलेसनमा आउन नमान्दा निकै चुनौति रह्यो । तर आइसोलेसनबाट निको भएर घर फर्कदा सबै दुख बिर्षिए । मनमा खुसिनै छायो । ’
निको भएर घर फर्कने संक्रमितलाई गाउँपालिकाले होमआइसोलेसनमा बसेर उच्च सावधानी अपनाउन सुझाव दिएको थियो ।
घरमा गएर मास्क लगाउने, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्ने,सेनिटाइजरको प्रयोग गर्ने, साबुनपानीले नियमित हातधुने र शंकास्पद लक्षण देखिने वित्तिकै स्वास्थ्यकर्मीको सम्पर्कमा आइहाल्न आग्रह गरेको तातोपानी गाउँपालिकाले जनाएको छ ।
गाउँमा कोरोना लक्षणका बिरामी देखिन वित्तिकै स्वास्थ्यकर्मी लिएर वडाध्यक्ष विशाल खड्का गाउँमा पुगेका थिए । उनले गाउँपालिका स्वास्थ्य शाखा समन्वय गरेर पिसिआर परिक्षणका लागि पहल गरे । खड्काले भने,‘गाउँमा कोरोना फैलँदा स्वभाविक रुपमा त्रास त थियो नै तर कोरोना परिक्षण गरेर संक्रमितको स्वास्थ्य सुरक्षाका लागि निकै चासो थियो । समयमै पहल गर्दा कोरोनाबाट क्षति बेहोर्नु परेन । वडापालिका यसैमा सन्तुष्टि छ । ’
तातोपानी गाउँपालिकाले गाउँपालिकाभित्रका ८ वडाका हरेक बस्तीमा कोभिड सम्पर्क व्यक्ति राखेको छ । दैनिक दिन सबै वडाका सबै गाउँको अवस्था बारेमा जानकारी लिने गरिएको छ । अहिले गाउँपालिकाका ठुलो संख्यामा संक्रमित आइसोलेसनमा छन । गाउँपालिकाले ट्रेसिङ र टेस्टिङलाई संगसंगै अघि बढाएको जनाएको छ ।

सम्बन्धित शीर्षक