जंगल संरक्षणको लागि ग्याँस व्यवस्थापन गर्ने,नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने,स्याउ खेतिलाई प्रर्बद्धन गर्ने,वडा हिलोमुक्त बनाउने र फ्रि वाइफाई जोडेर सिंगो वडालाई प्रविधि मैत्री बनाउने जुम्ला गुठिचौर गाउँपालिका ३ का वडाध्यक्ष प्रेमबहादुर बुढाका निर्वाचन घोषणा पत्रमा समावेश गरिएका बिषय हुन । त्यही घोषणा पत्रले बुढालाई निर्वाचनमा वडाध्यक्ष बनायो । । उनी प्रति जनताको आशा थियो,‘समृद्ध वडा र सुखारी वडाबासी बनाउने प्रयत्न निरन्तर अघि बढ्नेछ । वडाध्यक्ष बुढाले पनि घोषणा पत्रमा रहेका बिषयलाई क्रमश लागु गर्दै गए । उनले जनताको विकासलाई प्राथमिकता दिए ।
वडाध्यक्ष बुढाले पहिलो बर्षमा वडाका सबै घरधुरीलाई एक घर एक ग्याँस उपलब्ध गराए । जंगलको संरक्षण गर्ने,प्रदुषण कम गर्ने,समयको बचत गराउने लक्ष्यका साथ ग्याँस वितरणले नागरिकमा उत्साह ल्यायो । उनले भने,‘ग्याँस अहिले नागरिकले निरन्तर प्रयोग गरिरहेका छन । समयको बचत भएको छ । प्रदुषण कम भएको छ । जंगल संरक्षणको लागि दवाव बढेको छ । आधुनिक प्रविधि संग जोडिन सिकाएको छ । ’
दोस्रो बर्षमा उनले एक घर एक फिल्टर कार्यक्रम ल्याए । वडाबासीले स्वच्छ खानेपानी व्यवस्था गर्न यो कार्यक्रमले राम्रो सन्देश दियो । बढ्दो कोरोना महामारीमा यो कार्यक्रम उत्तम विकल्प थियो । उनले भने,‘सबैभन्दा ठुलो नागरिक स्वास्थ्य हो । वडाबासीको स्वास्थ्यका लागि गरिएको यो कार्यक्रमले स्वच्छ खानेपानी पिउनको लागि बानी बसालेको छ । फिल्टरको पानीले नै रोग लाग्न नदिनको लागि पनि काम गर्छ भन्ने सन्देश दिएको छ । ’
तेस्रो बर्ष वडाध्यक्ष बुढाले कृषिलाई प्राथमिकता दिए । उनले यहाँ स्याउको संभावना देखे । एक घरलाई २५ स्याउका विरुवा दिए । स्याउ जुम्लाको आम्दानीको स्रोत हो । एक बगैँचा हुनको लागि न्यनुतम २५ विरुवा रोपेको हुनुपर्छ । उनले एक घर एक बगैँचा स्थापनामा जोड दिए । हरेक वडाबासीको घरमा स्याउ विरुवा छन । स्याउ बगैँचा स्थापना गरिदिएकोमा किसान खुसी छन । उनले भने,‘स्याउबाट आर्थिक समृद्धि हासिल गर्नको लागि सहयोग मिलोस भन्ने कामना गरिएको छ । यो सफल हुनेछ । बगैँचा स्थापनाका किसान आकिर्षत हुन थालेका छन । ’
चौथो बर्षमा वडाध्यक्ष बुढाले वडाभरी फ्रि वाइफाई जडान गरेका छन । यसले सुचना प्रविधिको पहुँचमा नपुगेका सबै नागरिक सुचनाको पहुँचमा छन । विश्वभरमा घटेका हरेक घटना क्षणभरमै थाहा पाउँछन । आफ्नो घर भन्दा टाढा रहेका आफन्तजन संग भिडियोमै गफ गर्न पाउँछन । वडाध्यक्ष बुढाले भने,‘चार बर्षमा गरिएका यी कार्यले समाजमा सकरात्मक छाप बसेको छ । व्यक्तिगत स्वार्थ कुनै छैन । सामुहिक हितका लागि गरिएको यो कार्य सबैका लागि प्रसंसनीय छ । ’
उनले यो चार बर्षमा सबै घरमा बिजुली पुर्याएका छन । जसले अन्धकारभित्र काम गरिएका नागरिक उज्यालोको अनुभुति गरिरहेका छन । यो वडा भित्र दुई गाउँ छन । दामदासे र गज्र्याङकोट । दुबै गाउँमा आधारभुत रुपमा समानुपातिक हिसावले विकास निर्माणका कार्य भइरहेका छन । विद्यालयमा फर्निचर व्यवस्थापन,खेलमैदान निर्माणमा जोड दिइएको छ । गुणस्तरीय शिक्षामा जोड दिदै शिक्षा क्षेत्रलाई सबैको पहुँचमा ल्याउन पहल भइरहेको छ । वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । औषधि अभाव हुन दिइएको छैन । स्वास्थ्य केन्द्रले महामारीका रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रचारप्रसार गर्ने, परामर्श दिने काम गरिएको छ । कोरोना भाइरसलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री तथा विपन्न नागरिकलाई राहतको व्यवस्थापन गरिएको छ ।
वडाभित्रका सबै रिङ रोड पिसीसी गरिएको छ । जसले सबै गाउँमा हिलोमुक्त भइसकेका छन । वडामा एक घर एक धाराको प्रबन्ध गरिएको छ । सिचाइँमा बहुबर्षिय योजना निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । स्याउ पकेट क्षेत्र र आलु पकेट क्षेत्र बनेका छन । उनले भने,‘सहजै रुपमा काम गर्ने अवसर नहुँदा पनि यी काम संभव भएका छन । नागरिक वडाको काम प्रति सन्तुष्ट छन । केही व्यक्तिले साथ दिएका छैनन । विकास सबैको साँझा हुनुपर्छ भन्ने मान्यता स्थापित भइसकेका छन । राम्रो काम गर्दा अवरोध गर्ने संस्कार हाबी छ ।
उनले थपे,’‘विकासमा जनताको साथ छ । समृद्ध वडा बनाउने सपना निरन्तर अघि बढेको छ ।’ जनप्रतिनिधिले साथ नदिएको उनले गुनासो पोखे । उनले भने,‘विकासमा राजनीति गर्दा गुणस्तरीय विकास हुन नसक्नु दुखद हो । तर स्वार्थ रहित काम गर्दा हरेक विकास संभव भइहाल्छ । ’