एमिबीबीएस पढ्न पालिकाकाे छात्रवृत्ति

दैलेख । जिल्लाकाे भैरवी गाउँपालिकाले एमबीबीएस (चिकित्साशास्त्रतर्फ स्नातक) पढ्नका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले एमबीबीएस पढ्ने गाउँपालिकाका एक विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । गाउँपालिका क्षेत्रभित्रका गरिब तथा जेहेनदार विद्यार्थीलाई अध्ययनका लागि आवश्यक सम्पूर्ण शुल्कको ९० प्रतिशत रकम छात्रवृत्ति स्वरूप प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

गापाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पङ्गालीले आर्थिक वर्ष २०७८-७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नेपालभित्रका विश्वविद्यालयबाट एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेका गाउँपालिका क्षेत्रभित्रका गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिन लागिएको बताए ।

छात्रवृत्ति प्राप्त गर्न गाउँपालिकामा मङ्सिर १३ भित्र निवेदन दिन सूचना आह्वान गरिएकाे छ । छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन पूरा गरेपछि कम्तीमा सात वर्षसम्म भैरवी अस्पतालमा अनिवार्य रूपमा सेवा गर्नुपर्ने प्रावधान राखिएको प्रमुख प्रशासकीय अधिकृत पङ्गालीले जानकारी दिए । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले स्थानीय सरकारले नेतृत्व गरेकै वर्षबाट यो कार्यक्रम सञ्चालन गर्ने भने पनि विविध कारणले राेकिएको र अब भने सुरु भएको बताए ।

सम्बन्धित शीर्षक