जुम्लामा कांग्रेसको अधिवेशन स्थगित

सुर्खेत। जुम्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ। सहमतिमा नेतृत्व चयन गर्न भन्दै हाललाई जिल्ला अधिवेशन स्थगित गरिएको नेपाली कांग्रेस जुम्लाले जनाएको छ।

सहमतिको प्रयासका लागि पर्याप्त समय नभएपछि जिल्ला अधिवेशन भएको छ,’ जुम्लाका कांग्रेस सभापति दीपबहादुर शाहीले भने, ‘अब दसैंपछि नै अधिवेशन हुन्छ।’ कात्तिक ३ गते अधिवेशन बोलाउने गरी छलफल भइरहेको उनले बताए। तर स्थगित अधिवेशनको मिति भने पार्टीको केन्द्रीय कमिटीसँग छलफल गरेर तोकिने छ।

जुम्लामा संस्थापन इतर समूहको बलियो पकड छ। त्यहाँका ८ मध्ये ६ स्थानीय तह र दुई प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व संस्थापन इतर समूहले लिएको छ। त्यहाँ आगामी नेतृत्वका लागि बहालवाला सभापति शाहीले पुनः दोहोर्याउन चाहेका छन्।

उनी संस्थापनइ तर समूहका हुन्। त्यस्तै संस्थापन समूहबाट पार्टी सचिव कर्णबहादुर शाही सभापतिका आकांक्षी छन्। संस्थापन इतर समूह बलियो भएका कारण वहालवाला सभापति शाहीले पुनः नेतृत्वमा दोहोरिन सक्ने सम्भावना छ। तर संस्थापन समूहले अन्य व्यक्तिलाई मौका दिनुपर्ने अडान राखेको छ।

बहालवाला सभापति शाहीले १३ औं महाधिवेशन अघि पनि एक कार्यवाहक सभापति भएर नेतृत्व निर्वाह गरिसकेका छन्। तत्कालीन पार्टी सभापति मानव सेजुवालको जहाज दुर्घटनामा मृत्यु भएपछि शाहीले कार्यवाहक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए। यही कारण संस्थापन पक्षले पार्टीमा योगदान गरेका अन्य व्यक्तिलाई नेतृत्व गर्ने मौका दिनुपर्ने बताउँदै आएको छ। तर संस्थापन इतर समूहले भने आम निर्वाचन नजिकिएको भन्दै पार्टीको नेतृत्व गर्नसक्ने क्षमता र योग्यताका आधारमा शाहीलाई नै दोहोर्याउनुपर्ने अडान राखेको छ।

सम्बन्धित शीर्षक