फागुन २० गते मध्यरातदेखि मतदान नसकिएसम्म सवारी सञ्चालन बन्द

निर्वाचन आयोगले फागुन २० गते राति १२:०० बजेदेखि मतदान प्रक्रिया सम्पन्न नहुँदासम्म देशभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, शान्त र व्यवस्थित बनाउन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ अनुसार गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अत्यावश्यक सेवाका सवारीसाधन—जस्तै एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतमा प्रयोग हुने सवारी—कूटनीतिक नियोगका गाडी तथा पास प्राप्त सवारीसाधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लाग्नेछ।

बैठकले मतदानको मितिभन्दा सात दिनअघि देखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म देशभर मादकपदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाउन गृहमन्त्रालयलाई पत्र पठाउने निर्णयसमेत गरेको छ। यससम्बन्धी निर्देशन ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार निषेध गरिएका गतिविधि हुन नदिन सक्रिय रूपमा परिचालन गरिने जनाइएको छ। उल्लङ्घन भएमा तत्काल कानुनी कारबाही गरी आयोगलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा योजनाको समीक्षा तथा आवश्यक मार्गदर्शनसमेत गरिएको छ। साथै फागुन १८ गते राति १२:०० बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिको पूर्ण पालना गराउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित सञ्चालनमा रहनेछन्। टिकट भएका यात्रुले विमानस्थल आउजाउ गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले व्यवस्था गरेको सवारी प्रयोग गर्न पाउनेछन्।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ अनुसार निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ।

मतदाताले मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमति पत्रमध्ये कुनै एक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

मतदानको दिन आवश्यक सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष पास वितरण इकाई स्थापना गरिनेछ, जहाँ आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी खटाइने व्यवस्था गरिएको छ।

 

सम्बन्धित शीर्षक