कर्णाली मावि अनामनगरको २३ औं बार्षिकोत्सव सम्पन्न

लक्ष्मी न्यौपाने,जुम्ला
जुम्ला चन्दननाथ नगरपालिका ३ स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगरको २३ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सवका अवसरमा विभिन्न सास्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको थियो ।
बार्षिकोत्सवमा विद्यालयको बार्षिक आयव्यय र प्रगति प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । प्रधानाध्यापक कुलबहादुर मल्लका अनुसार गत आर्थिक बर्षमा ५ करोड १६ लाख २४ हजार ८१ रुपैयाँ आय भएकोमा ५ करोड १६ लाख २४ हजार ८७ रुपैयाँ ५१ पैसा व्याय भएको देखाइएको छ ।
प्रधानाध्यापक मल्लले विद्यालयमा १ हजार ७५ विद्यार्थी अध्ययनरत छन । प्रतिबेदनामा विद्यालयको कर्मचारी विवरण,भौतिक सम्पति विवरण,सबल पक्षहरु,समस्या र चुनौतिहरुर आगामी विद्यालयको रणनीतिको बारेमा समेटिएको थियो । शिक्षा शाखा प्रमुख खडानन्द चौलागाइले विद्यालयले देखिएको कामको उच्च प्रसंसा गरे । उनले आगामी दिनमा नगरपालिका क्षेत्रबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
चत्दननाथ २ का वडाध्यक्ष हेम बुढ्थापाले गुणस्तरीय शिक्षाका लागि शिक्षक,अभिभावक,विद्यार्थी र जनप्रतिनिधि बिचको समन्वय आवश्यक रहेकोमा जोड दिए । उनले वडा कार्यालयले विद्यालयको उन्नती र प्रगतिका लागि गरेको कामको वर्णन समेत गरेका थिए ।
चन्दननाथ ३ का अध्यक्ष रतन खत्रीले विद्यालयबाट उत्पादित जनशक्तिले गरेको प्रगति प्रसंसा गर्न योग्य रहेको बताए । उनले चन्दननाथ नगरपालिकाबाट विद्यालयमा हुने सबै सहयोग गर्न प्रतिबद्ध रहेकोमा जोड दिए ।
कार्यवहाक नगरप्रमुख नवराज देवकोटाले नगरमा रहेका सवै विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले शिक्षक नियमित रुपमा विद्यालयमा जानुपर्ने,विद्यार्थी नियमित हुनुपर्ने र अभिभावकले विद्यार्थी,शिक्षक र विद्यालयको निगरानी गर्नुपर्ने बताए ।
कर्णाली मावि अनामनगर २०४६ सालमा कर्णाली प्राविधिक शिक्षालयको हाताभित्र स्थापना भएको हो । २०५७ सालमा चन्दननाथ ३ खोलिकोटमा रुपान्तरण हुदैं कक्ष १० सम्मको कक्ष चलेको थियो । २०६४ मा एसइइमा जिल्लाकै राम्रो नतिजा र स्थान ल्याउन पुग्यो ।
२०६१ मा बहिरा स्रोत कक्ष सञ्चालन,२०७३ सालमा प्लस टु सञ्चालन र २०७६ साल देखि जियोमेन्टिक इन्जीनियरिङ सर्भेको पठनपाठन सुरु भएको थियो ।

सम्बन्धित शीर्षक