जुम्लामा १३ औं राष्ट्रपति रनिङ शील्ड सुरू

जुम्ला — जुम्लामा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शील्ड सुरु भएको छ । नेपाली सेनाको टुँडिखेल मैदानमा साेमबारदेखि सुरू प्रतियोगिता कर्णाली प्रदेशका सांसद देवेन्द्रबहादुर शाहीले उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा सांसद शाहीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताएका थिए । जुम्लाका खेलाडीले राष्ट्रियस्तरको प्रतियोगिता जित्दै पहिचान बनाउन सफल भएको स्मरण गर्दै उनले खेल क्षेत्र कसैकाे प्राथमिकताकाे विषय बन्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

साथै उनले खेल क्षेत्रलाई जीवित बनाउन सबैलाई आग्रह गरेका थिए । जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख बरमबहादुर महतले जिल्लाका माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए । तीन दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका ८ स्थानीय तहमध्ये ६ वटाले मात्र भाग लिएका छन् ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सुरू भएको रनिङ शील्डका उत्कृष्ट खेलाडीले वैशाख ३ गतेदेखि हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने बताए । जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगीता आचार्यले जुम्लाका केही स्थानीय तहले खेलाडीलाई अपमानजनक व्यवहार गरेको भन्दै राष्ट्रियताको पहिचान बनाउने खेलाडीलाई प्रतियोगितामा सहभागी गर्न कन्जुस्याइँ गरेको गुनासो गरिन् ।

रनिङ शील्डमा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स लगायतका खेल समावेश गरिएको छ । जिल्ला खेलकुद विकास समिति जुम्ला र चन्दननाथ नगरपालिका जुम्लाको आयोजनामा भएको प्रतियोगितामा जुम्लाका ६ वटा गाउँपालिका भित्रका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । जुम्लाका ८ वटा स्थानीय तहमध्ये सिंजा गाउँपालिका र गुठिचाैर गाउँपालिका भने सहभागी छैनन् ।

सम्बन्धित शीर्षक