बजार अभावमा लाखौँको प्याज कुहिँदै

जुम्लाको पातारासी गाउँपालिकामा बजारीकरण हुन नसक्दा लाखौँको प्याज कुहिने अवस्थामा पुगेको छ। चैत महिनामा लगाएको प्याज जेठ महिनामा कोरेर किसानले भण्डारण गरेर राखेका छन्। तर बजारीकरणको समस्याका कारण थन्किएको उनीहरु बताउँछन्। भण्डारण गरेर राखेको प्याज नबिक्दा किसानहरु चिन्तित छन्।

‘पहिलो चरणको प्याज भित्र्याएर भण्डारण गरेर राखेका छौँ’, पातारासी ६ का किसान रमेश बुढाले भने, ‘पहिलो चरणको प्याज बेच्न नपाउँदै दोस्रो चरणको प्याज भित्र्याउने बेला भइसक्यो। व्यापारी खरिद गर्न आउँदैनन्। नत कुनै ठाउँबाट माग हुने गरेको छ।’ प्याज बिक्री नहुने चिन्ताले सताएको किसान बताउँछन्।

‘प्याजको संभावना देखेर बारीभरी प्याज रोप्यौँ’, उनले भने, ‘रोपे अनुसारको प्याज उत्पादन भयो। तर उत्पादन अनुुसार बजार व्यवस्था नहुँदा किसान मर्कामा छौँ। उत्पादन गरेर पनि बजारको व्यवस्था नहुनु निकै दुखद्को बिषय हो।’

रमेशको झण्डै दुई लाख रुपैयाँ बराबरको प्याज थन्किएको छ। उनको ४० क्वीन्टल प्याज थन्किएको हो। केही कुहिएर नष्ट भइसकेको छ। अहिले भारतीय प्याज नेपाली बजारमा आइसकेकोले आफूहरुको प्याज बिक्री हुन नसकेको किसान बताउँछन्। उनले भने, ‘गत वर्ष प्याजको माग ह्वातै बढ्यो। त्यही भएर यो वर्ष बढी क्षेत्रफलमा प्याज खेती गरियो। तर अहिले बजार भएन। घरमै भण्डारण गरेर थन्काउनु पर्योै।’

भारतीय प्याजका कारण यहाँको प्याजले मूल्य पाएको छैन। उनले भने, ‘प्याजको बजारीकरणको लागि स्थानीय तह र सरोकारवाला मौन छन्। गत वर्ष उनले २१ क्वीन्टल प्याज बेचेका उनले एक लाख पचास हजार रुपैयाँ कमाएका थिए।

६ वर्षदेखि व्यावसायिक प्याज खेती गर्दै आएका उनले वर्षेनी न्यूनत्तम ३ लाख रुपैयाँ भित्र्याउँछन्। प्याजसँगै काउली र गाँजर खेती पनि गरिरहेका छन्। ‘पहिले थोरै प्याज लगाउँथें। थोरै रुपैयाँ कमाउँथें। अहिले धेरै प्याज लगाउँछु। धेरै रुपैयाँ कमाउँछु। उनले भने, ‘प्याज लैजाने बजार नहुँदा समस्या भइरहेको छ।’ प्याजको बजारको खोजी गरिदिन आग्रह गरिरहेको उनले बताए।

प्याज खेती गरेबाट अर्काको भर पर्नु परेको छैन। उनको गाउँमा दस लाख रुपैयाँ बराबरको प्याज छ। सबैभन्दा बढी प्याज उत्पादन गर्ने उनी नै हुन्। गाउँमा १ सय ५ घर घरधुरी छ। सबै घरमा थोरबहुत प्याज खेती हुन्छ। अहिले प्याजमा किरा लागेको छ। यही अवस्थामा प्याज थन्काउनु परेको खण्डमा निकै घाटा हुने किसान बताउँछन्। पातारासीमा सबैभन्दा बढी प्याज उत्पादन गर्ने गाउँ नै लोर्पा हो।

गाउँसम्म सडक पुगेको छ। तर प्याज खरिदको लागि व्यापारी पुग्न सकेका छैनन्। यहाँका किसानले प्रतिकेजी ४० रुपैयाँमा प्याज उपलब्ध गराउदा पनि व्यापारीले चासो नदिएको उनीहरु बताउँछन्।

जुम्लाको एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा प्याज खेती हुन्छ। चन्दननाथ नगरपालिका १ तलिचौरलाई प्याजको भण्डारणका रुपमा हेरिँदै आएको छ। गत वर्ष यहाँको प्याज सुर्खेत, नेपालगन्ज, काठमाडौँ, बुटवल, जाजरकोट कैलालीसम्म पुगेको थियो। गत वर्ष बारीमै ७० रुपैयाँ केजीमा प्याज बेचेको किसान बताउँछन्।

सम्बन्धित शीर्षक