विश्वकै अग्लो ठाउँ छुम जिउलोमा धान रोपाई

 

 

 

 

विश्वकै अग्लो स्थान हिमाली जिल्ला जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा कालीमार्सी धान रोपिएको छ । २८ सय ५० सय मिटर अग्लो स्थानमा रहेको तथा गिनिजबुकमा रेकड कायम भएको छुम जिउलोमा कालीमार्सी धानको आईतबारका दिनमा एक कार्यक्रम गरी रोपिएको हो ।

कालीमार्सी धान संरक्षण तथा प्रबद्र्धनकर्ता स्थानीय कलिमान महताराका अनुसार २०१९ सालमा जग्गा दर्ता गरी २०२१ सालदेखि रोपाई सुरु गरिएको बताउनु भयो । पहिलो बल बहादुर महताराका पालामा चन्दननाथ मन्दिरको शेरा ज्युलोबाट धानको बेर्ना अर्थात बिउ ल्याएर यस छुम जिउलोमा धान रोपाई सुरु भएको हो ।

तर पछि धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिंचाई सुविधा नभएको र धान रोपाई हुने सिजन र पाटनमा यार्सा संकलनको सिजन एउटै पर्ने भएकाले विस्तारै रोपाई गर्न छोडिएको स्थानीय महताराको भनाइ छ । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले दुई सय रोपनीमा धान रोपेको उहाँले बताउनु भयो ।

कृषि बिकास कार्यालय जुम्लाको समन्वय र पातारासि गाउँपालिकाको आयोजनामा छुम जिउलोमा रोपाई गरिएको हो । कर्णाली प्रदेशका कृषि मन्त्री भीम प्रसाद शर्मा, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकाया लगायतका व्यक्तिले धान रोपेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री शर्माले कर्णाली प्रदेशलाई अर्गानिक घोषणा गर्ने तयारी रहेको बताउनु भयो । विश्वको अग्लो स्थान छुम ज्युलोमा रोपिएको कालिमार्सि धानको ब्राण्डिङ्गमा ध्यान दिनु पर्ने उहाँको भनाइ छ । मन्त्री शर्माले कालिमार्सि धानको चाम लगायत अन्य परिकार अन्तराष्ट्रिय स्तरमा समेत पुराउन सक्नु पर्ने बताउनु भयो ।

विश्वको अग्लो स्थान छुम जिउलोमा धान फल्ने कुराले शंसारको ध्यान केन्द्रीत गरेको मन्त्री शर्माको भनाइ छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले विश्वकै अग्लो ज्युलोमा धान फल्नु जुम्लाको लागि सौभाग्य भएको बताउनु भयो । उहाँले भन्नुभयो, खेति विस्तारमा जोड दिनु पर्छ ।

धेरै खेतहरुमा धान फलाउन छोडिएकाले खेतिमा जोड दिन उहाँले सुझाव दिनु भएको छ । धान खेतिमा दुःख भएपनि जुम्लाको गौरवसँग जोडिएकाले रोपाई नछोड्न आचार्यले अनुरोध गर्नु भएको छ । गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले छुमचौर जिउलोलाई मार्सी धान फल्ने प्रमुख स्थानमध्ये एक मानिने गरेको बताउनु भयो ।

जुम्लाको रैथाने प्रजातिको रुपमा चिनिएको मार्सी धान र अग्लो स्थानको रोपाइँ हेर्न पर्यटक आउने वातावारण स्थानीय सरकारले बनाउने उहाँको भनाइ छ । छुम जिउलोलाई पर्यटनको आकर्षणको केन्द्र बनाउन धान रोप्ने प्रचलनलाई प्रथामिकताका साथ अघि बढाएको उहाँले बताउनु भयो ।

मनग्य उत्पादन नभए पनि किसानहरूले ठाउँको चिनारी राख्नकै लागि पनि मार्सी रोप्ने क्रम बढ्दो क्रममा रहेको उहाँको भनाइ छ । धान अवलोकन गर्न पर्यटक र अनुसन्धानकर्ता पनि आउने स्थलका रुपमा छु जिउलोलाई विकास गर्न खोजिएको अध्यक्ष बोहोराले बताउनु भयो । उहाँले भन्नुभयो, धान रोपाईलाई उत्सवका रुपमा मनाउने गाउँपालिकाको योजना छ ।

राम्रो धान फलाउने किसानलाई सम्मान गर्दै मार्सी धान प्रवद्र्धनमा जोड दिने बोहोराले बताउनु भयो । यता गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले छुम जिउलोमा उत्पादन भएको मार्सिधानलाई संरक्षण गर्न धान पकेट क्षेत्रका रुपमा विकास गरिने बताउनु भयो । उहाँले भन्नुभयो, विश्वको अग्लो स्थानमा धान फल्ने छुम जिउलोमा पर्यटन आउने व्यवस्थापन गरिनेछ ।

धान रोपाई तथा बाला झुलेको बेला बाह्य पर्यटक आउने व्यवस्थापन गर्न सकिएमा आन्तरिक स्रोत वृद्धि गर्न सकिने उहाँको भनाइ छ । धान खेती हेर्नकै लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई देखाउनकै लागि भएपनि छुम जिउलोमा धान रोपिएको उपाध्यक्ष रोकायाले बताउनु भयो ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशवहादुर अधिकारीले विश्वको अग्लो स्थानमा धान रोपाई हुनु जुम्लाको लागि गौरव भएको बताउनु भयो । उहाँका अनुसार छुमचौर ज्युलोमा फल्ने कालिमार्सि चामललाई विश्वका ठुला शहरमा पठाउने वातावारण बनाउनु पर्ने बताउनु भयो । विश्वको अग्लो धान फल्ने स्थानका रुपमा पहिचान बोकेको छुम जिउलोमा कालीमार्सी धान रोपिने कार्यले गरिमा बढेको उहाँको भनाइ छ ।

सम्बन्धित शीर्षक