नेपाली भाषाको पहिलो शिलालेख गाई, गोरु र बाख्रा बाँध्ने थलो बन्यो

दैलेख । दैलेखको दुल्लु नगरपालिकामा रहेको नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्बा (कीर्तिस्तम्भ) गाई-गोरु बाध्ने काममा प्रयोग हुँदै आएको छ । नेपाली भाषीको ऐतिहासिक शिलालेख रहेको कीर्तिस्तभ गाई-गोरु बाध्ने थलो बन्न थालेको हो ।

दुल्लुबासीको मात्र नभएर नेपाली भाषीको एक गहनाका रूपमा रहेको कीर्तिस्तभमा गाई-गोरु बाध्ने थलो बन्नुमा उचित संरक्षणको समस्या रहेको देखिएको स्थानीय तीर्थ सुनारले बताए । ‘यसको संरक्षणको लागि लाखौँ रकम पनि खर्च भयो, तर त्यो बालुवाको पानी भयो’ उनले भने, ‘कसैले त्यसको महत्त्व बुझ्न सकेनन् भने कसैले त्यसको संरक्षण गर्न पनि सकेनन् ।’ संरक्षणमा ध्यान दिन नसक्दा समस्या भएको स्थानीयले बताउने गरेका छन् ।

यसभन्दा अगाडि दुल्लु नगरपालिका र केही अभियन्ताहरूबाट कीर्तिस्तभको साधारण घेरबार भएको थियो । उक्त कीर्तिखम्ब परिसरमा अहिले पानी पर्दाको समयमा बाख्रा बाँध्ने गोरु बााँध्नेदेखि वरिपरिको रेलिङमा कपडा सुकाउने काम भइरहेको स्थानीयले जानकारी दिए ।

‘कीर्तिखम्ब परिसरका नेपाली भाषाका लिपि भएका खम्बाहरू गाई, गोरु र बाख्राका लागि ठोकिएका किला भएका छन्, खम्बा भएका छन्’ एक स्थानीयले भने, ‘सडक र बजारक्षेत्रसँगै रहेको कीर्तिखम्ब अहिले फोहोर र कुरूप मात्र भइरहेको छैन कि गाई, गोरु र बाख्राले भरिदाँसम्म पनि सम्बन्धित निकाय मौन छ ।’

यो स्तम्भ शाके सम्वत १२७९ तत्कालीन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएका हुन् । कीर्तिस्तम्भको उचाइ २ मिटर ७६ सेमी, चौडाइ ५० सेमी र मोटाइ ८ सेमी रहेको छ । स्तम्भको चारैतिर घोटिएकाले लेखिएका अक्षरहरू अस्पष्ट हुँदै गइरहेका छन् भने भाषा र लिपीहरू सामान्यतया बुझ्न र पढ्न नसकिने भएका छन् ।

सम्बन्धित शीर्षक