जवा नदिको बालुवा,गरिबको गुजारा

जुम्ला चन्दननाथ नगरपालिका १ की ५८ बर्षिया बास्मति कुलाल हरेक बिहान ५ बजे जवा नदि किनारमा पुग्छिन् । उनी दिनभर जवा नदिमै भेटिन्छिन् । नदिको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । त्यही जवा नदिको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छन । उनले भनिन्,‘एकाबिहानै आउँछु । नदिको बालुवामै खेल्छु । बालुवामै रमाउँछु । परिवारको खर्च जोहो गर्ने बालुवा एक स्रोत बनेको छ । जवा नदिको बालुवा जीवन चलाउने गुजारा बनेको छ । ’
उनका छिमेकी धनमाया कुलाल पनि उनी संगै जान्छिन् । दिनभरी बालुका निकालेर ब्यापारीलाई बेच्ने गर्छिन । जुम्लाको जवा नदिमा बालुवा निकाल्नेको भिड नै लागेको देखिन्छ । जवा संगै हिमा र तिला नदिनमा पनि बालुवा निकाल्ने कार्य चलिरहेको उनीहरु बताउँछिन ।
नदि किनारमै खाना खान्छौँ । बालुवा निकाल्छौँ । उनले भनिन्,‘नदि किनारमै ठेकेदार बालुवा लिन आउँछन । नदि किनारमै रुपैयाँ दिन्छन् । फर्कन्छन् । ’उनीहरुको खाना पनि नदि किनारामै हुन्छ । बिहान आउँदा राम्रो बालुवा निकाल्न मिल्ने उनीहरुको अनुभव छ । बालुवा ननिकालेको दिनमा घरको चुलो बल्दैन । धनमायाले भनिन्,‘एक दिनमा १५ बोरा सम्म बालुवा निकालिन्छ । एक टिप्पर बालुवा निकालेको खण्डमा तीन हजार देखि ४ हजार रुपैयाँ सम्म दिने गरेका छन ।
एक टिप्पर बालुवा संकलन गर्दा पाँच सय रुपैयाँ नदि किनारमा भएको जग्गा धनीलाई उपलब्ध गराउने गरिएको छ । विद्यालय जाने बालबालिका समेत बालुवा संकलनका लागि नदि किनारामा पुग्ने गर्छन । स्थानीय उनिता कुलाल विद्यालय बन्द भएकोले बालुवा निकाल्नमा प्रयोग गरिरहेको सुनाउँछिन ।बालुवा बेचेको रकमले घर खर्च चलाउन सहज भइरहेको छ ।
बालुवा बेचेर दैनिक उपभोग्य सामाग्री चामल, तेल तथा लुगाफाटो छोराछोरी किताब, कापी र कलम किन्ने गरेको उनीहरु सुनाउँछिन । साउन महिनामा पानीको बहाफ बढेको छ । जोखिमका बीचमा बालुवा निकालिरहेका छौँ । उनिताले भनिन्,‘जवा नदिमा खाली खुट्टा, नांगो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छौँ ।
नदिमा फ्याकिएका सिसा, काँडा र ढुंगाले काट्ने डर हुन्छ । तर बालुवा संकलन नगरि सुख छैन । नदि किनारामा झण्डै दुई सय बढि महिला बालुवा निकालेर जीविका चलाउँछिन । विकास निर्माण योजनामा बालुवाको माग बढ्दै गएकाले स्थानीय महिलाहरुले गाउँ नजिकै रोजगारी पाएका हुन् । बालुवा ननिकाल्ने हो भने उनिहरुको चुलोमा आगो बल्दैन । ठेकेदारले बालुवा खरिद गरी ट्याक्टर र टिपर मार्फत सदरमुकाम र आसपासका जिल्लामा पु¥याउने गरेको स्थानीय बताउँछन ।
निर्माण कार्यमा बालुवा अनिवार्य हुने भएकोले माग अनुसार संकलन हुन सक्दैन । बालुवाको माग अनुसार निकाल्न सकिदैन । जवा नदि,तिला र हिमा नदिनमा बालुवा संकलन कार्य तीब्र चलिरहेको छ । गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको संख्या बढ्दै गएको छ । एउटा समूहमा १० देखि २० जनाले बालुवा निकाल्दै आइरहेका छौं,धनमायाले भनिन्, ‘साउन महिनाको भेलमा पनि ज्यानको बाजी थापेर बालुवा निकाल्नुपर्ने बाध्यता छ । बालुवा बेचेर ५ देखि ८ जनाको परिवार पालिरहेका छौँ । बालुवा संकलनका क्रममा विगत बर्षहरुमा दर्जनौँ मानिसले ज्यान गुमाउनु परिरहेको छ ।

सम्बन्धित शीर्षक