जुम्लाको वडाअध्यक्ष विभेद प्रकरण : प्रहरीले घरमा भेटाएन,अध्यक्ष बुढा र छोरा फरार

जुम्ला : जातीय विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता गरिएका जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ का कालि बहादुर बुढा र उनका छोरा नविन बुढा फरार भएका छन् ।

सोही ठाउँ कै स्थानीय दलित युवा विवेन्द्र नेपालीले उनीहरु विरुद्ध गत असार २२ गते जातीय विभेदको कसूरमा मुद्धा दर्ता गरेका थिए । सुरुमा जुम्ला प्रहरीले जाहेरी नै दर्ता गर्न मानेको थिएन । पछि जुम्लाका दलित अगुवाहरुको दबाबपछि मुद्धा दर्ता भएको थियो ।

तर जातीय विभेद जस्तो जघन्य अपराध गरेको आरोप लागेका वडाअध्यक्ष र उनका छोरालाई जुम्ला प्रहरीले अझै पक्रिन सकेको छैन । जुम्लाका प्रहरीको चरम लापरबाहीका कारण आरोपितले सजाय नपाउने आशंकका बढेको छ । पीडित विवेन्द्र नेपालीका अनुसार प्रहरीले सक्रियता नदेखाएका कारण अहिलेसम्म उनीहरुलाई पक्राउ गरिएको छैन । विभिन्न तवरबाट दोषिलाई उम्काउने प्रपञ्च भइरहेको उनको दुःखेसो छ ।

जिल्ला अदालत जुम्लाले २७ गते जिल्ला प्रहरी कार्यालय र नराकोट प्रहरी चौकीलाई पक्राउ पुर्जीको आदेश दिए पनि प्रहरीले हालसम्म दोषी पक्राउ गर्ने विषयमा चासो नदेखाएको पीडित नेपालीको गुनासो छ। यस्तै उनले मिसन टुडे दैनिकसँग कुराकानी गर्दै वडा अध्यक्ष बुढा र उनका छोरा फरार भएको जानकारी आफूलाई प्रहरीले दिएको बताए । वडा अध्यक्ष बुढाको घरमा गएको भनिएका प्रहरीको भनाई उद्धित गर्दै पीडित नेपाली भन्छन्, उनीहरु फरार भइसकेछन् । श्रीमतीले छोरा सुर्खेत गएको छ बुढा सदरमुकाम गएका छन् भनेको खवर आएको छ । अहिलेसम्म दोषि माथि कारबाही भएको छैन । सबै तर्फबाट दबाब आवश्यक छ । यता जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सिंजा पुगेका प्रहरी जवान सन्देश बुढाले वडा अध्यक्ष नभेटिएको बताए । उनका अनुसार घरमा पुग्दा पनि वडा अध्यक्ष र उनका छोरा त्यहाँ थिएनन् । उनले ८ जनाको टोली आएको भन्दै जसरी पनि पक्राउ गरिने बताए ।

सम्बन्धित शीर्षक