कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

सुर्खेत : कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १७ औँ बैठक पनि कार्यसूचिमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु मंगलबार बसेको बैठकमा पनि विगतका कुराहरु दोहाेर्‍याउँदै आ–आफ्नै सिटमा उभिरहँदा बैठक अवरुद्ध भएको हो। सरकारमा रहेका एमाले खनाल–नेपाल समूहका तीन जना मन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको अडान कायमै छ।

झण्डै २७ मिनेट सञ्चालन भएको बैठक कार्यसूचिमा प्रवेश गर्न नपाएर स्थगित भएको छ। एमाले सांसद दानसिंह परियारले सुरुमै वैधानिक रुपमा नैतिकता गुमाइसकेकाले बजेट पास गरेपनि दफाबार छलफल हुन नसक्ने चेतावनी दिए।

आक्रोशपूर्ण तरिकाले प्रस्तुत भएका परियारले तीन वर्षको कार्यकालमा ६ किलोमिटर कालोपत्रे सडक, ५२ प्रतिशत गरिबीलाई एक प्रतिशत पनि घटाउन नसकेको बताए।

आसेपासेका नाममा यसअघिका बजेट विनियोजन गर्दै आएको र यो वर्ष पनि त्यस्तै देखिएकाले कुनै हालतमा यस्तो काम गर्न नदिने दाबी गरे। उनले भने,‘आफ्नो हैसियत गुमाइसकेकाले नैतिक रुपमा राजीनामा दिएर संसदमा आउनुपर्थ्याे। एउटै पार्टी सत्ता र प्रतिपक्षमा जबसम्म रहन्छ संसद चल्न दिदैनौँ।’

साथै उनले प्रदेशको विषय भन्दा पनि केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा गर्नमै बढी समय खर्चिए। सभामुख राजबहादुर शाहीले लगातार विषय केन्द्रीत गर्न र सदन चलाउन सहयोग गर्न आग्रह गर्दा उनले मानेनन्।

त्यसपछि सभामुख शाहीले बैठक आधा घण्टाका लागि भनेर बैठक स्थगित गरे। आधा घण्टाका लागि स्थगित भएको बैठक ५० मिनेट पछि बसेको थियो। पुनः बसेको बैठक पनि २२ मिनेट सम्म सांसदहरु उभिए विरोध गरेपछि सभामुख शाहीले असार ३० गते दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गरेका छन्।

असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको बजेट पेस गरेपछि एमालेले मन्त्रीको राजीनामा माग्दै लगातार संसद् अवरुद्ध गर्दै आएको छ।

सम्बन्धित शीर्षक