हिमशिखर माविमा लगातार तीन पटक चोरी, दुई चोर प्रहरी नियन्त्रणमा

जुम्लाको तातोपानी गाउँपालिका २ मा रहेको हिमशिखर माविमा तोडफोड संगै चोरी गर्ने दुइ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तातोपानी ६ का २३ बर्षिय हरिदत्त बुढ्थापा र १७ बर्षिय हस्त खड्का रहेका छन ।
सोमबार राति १२ बजेतिर विद्यालयमा तोडफोड र चोरी भएको थियो । चोरी गरिरहेकै अबस्थामा विव्यस अध्यक्ष रुद्रसिंह मल्ल र उनकी पत्नी गौरा मल्लले थाहा पाएपछि चोरी तथा तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएका हुन । खेतमा पानी हालेर फर्किने क्रममा तोडफोड गरेको आवाज सुनिएपछि तत्काल प्रहरीचौकी लिताकोटलाइ खबर गरिएको थियो । चौकी ईन्चार्ज टुल्का गिरीको नेतृत्वमा गएको टोलीले घटनास्थलमै चोर पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबैलाई हदै सम्मको कार्वाही गर्न विद्यालयले माग गरेको छ । प्रहरी चौकी लिताकोट र जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थल विद्यालयमा पुगेर चोरी तथा तोडफोडको मुचुल्का गरेको प्रधानाध्यापक धनबहादुर रोकायाले बताए ।
निषेधाज्ञाको बेला विद्यालय बन्द रहेको मौका छोपी महत्वपुर्ण कागजात सहित सामानहरु चोरी तथा तोडफोड गर्ने गरेका थिए । प्रहरीको मुचुुल्का अनुसार स्टील दराज तोडफोड गरी पुरानो निर्णय पुस्तिका,लेखा परिक्षण गरेको बिल भरपाई, ल्यापटप ३ थान,ब्याकअप ३ पिस,फोन सेट १ थान, प्रोजेक्टर १ थान र डेक्सटप १० थान चोरी गरेका थिए ।
यसैगरी डिजिटल हाजिरी,फोटोकपी मेसिन २ थान ,फाईल ब्याक २ वटा र स्टील दराज लगायतका सामाग्रीहरु तोडफोड गरीएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रसिंह मल्लले बताए । एक दर्जन बढी ढोका फोडिएको उनले जनाए । चोरी तथा तोडफोडबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्राविधिक संयोजक गणेशराज डाँगीले बताए । उनले प्राविधिक फाँटका सामाग्रीहरु भताभुंग गरिएको बताए ।
विज्ञान प्रयोेगशाला, प्राविधिक फाँटमा राखेका विभिन्न सामान,र कम्प्युटर ल्यावमा समेत तोडफोड गरी सामान कामै नलाग्ने क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
दोषीलाई कानुन अनुसार कडा सजाय दिलाउन किटानी जाहेरी हाल्ने तयारी भईरहेको प्रधानाध्यापक रोकायाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय जुम्लाले घटनाको थप अनुसन्धान भईरहेको बताएको छ । पक्राउ परेकालाई २४ घण्टा भन्दा बढी हिरासतमा राख्न नमिल्ने भएकोले विद्यालयले जाहेरी दिएपछि मात्रै कार्वाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।
यो विद्यालयमा तेश्रोपटक चोरी भइरहेको हो । अनुसन्धानका अनुसार चोरहरुले तातोपानी गाउँपालिका ५ बस्ने तेज बहादुर कठायतको भे ५ प ३७६० को मोटरसाईकल प्रयोग गरेको पाइएको छ । मोटरसाईकलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
यो विद्यालय २०१६ सालमा स्थापना भएको हो । तीनैपटक विभिन्न माध्यमबाट चोर पत्ता लागीसकेका छन् । तर कार्वाही नहुँदा चोरीका घटना भइरहेका छन ।

0

सम्बन्धित शीर्षक