जाजरकोटको ठूलिभेरी र बारेकोटका बिरामी स्वास्थ्य संस्थामा नआएपछि घरमै पुगेर उपचार

जाजरकोट सर्वसाधारणहरू स्वास्थ्य आउन आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घर–घरमै उपचार सेवा दिइरहेका छन्। बारेकोट गाउँपालिकाले कोरोना संक्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेका जानकारी दिएको छ। सबै वडाका टोलटोलमा संक्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए। पालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ का घरघरमा पुगेर उपचार भइसकेको र अन्य वडामा घरदैलो जारी छ। शंकास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्नुका साथै सचेतनाका काम पनि भइरहेको छ। जटिल समस्या देखिएकालाई गाउँपालिकाको आइसोलेसनमा रेफर गरेर उपचार कार्य जारी रहेको अध्यक्ष शाहले बताए। उनले अन्य रोगका बिरामीलाई पनि स्वास्थ्यकर्मीले घरमै पुगेर उपचार गरिरहेको जानकारी दिए। स्वास्थ्यकर्मीको टोली यतिखेर औषधि, उपकरण र विभिन्न स्वास्थ्य सामग्रीसहित गाउँमा रहेको छ। गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि स्वास्थ्यचौकीमा कोरोना परीक्षण गराउन आउनेको संख्या न्यून भएपछि गाउँमा पुगेको जनप्रतिनिधिहरूले बताएका छन्। गाउँमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण फरक भएकाले अधिकांश बिरामीले स्वास्थ्य परीक्षण नगराएको बारेकाट गाउँपालिका– ५ का जनकबहादुर शाहीले बताए। गाउँपालिकाको टोली नखटिँदासम्म अधिकांश बिरामी घरेलु उपचार र धामीझाँक्रीकै भरमा भइरहेको थियो। उनले जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी गाउँमा खटिएपछि अन्य रोगका बिरामीले पनि उपचार पाएको बताए। स्वास्थ्य शाखाका प्रमुख वीरराज सिंहका अनुसार घरदैलोका क्रममा झन्डै २०० जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको छ। ती मध्ये ७१ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३६ जना होम आइसोलेसन र ३५ जना संस्थागत आइसोलेसनमा छन्। ११ जनाको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। बारेकोटमा सोमबारसम्म ३० जनाले कोरोना जितेका छन्। डोल्पाको ठूलिभेरी नगरपालिकाले घर,घरमा कोरोना जाँच गर्न थालेको छ। नगरपालिका भित्रका १० वटा स्वास्थ्य संस्थाका प्रमुखहरूलाई तालिम दिएर घर–घरमा गएर कोरोना जाँच गर्न पठाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायाले जानकारी दिए। संक्रमण हुने डरले स्वास्थ्य संस्थामा सर्वसाधारणहरू आउन नमानेपछि घर–घरमा गएर जाँच गर्न लागिएको अधिकृत रोकायाले बताए। दुई दिने तालिम दिएर सबै स्वास्थ्यकर्मीलाई कोरोनाको सचेतनामूलक कार्यक्रममा सहभागी गराउनुका साथै परीक्षण कार्यमा खटाउन लागिएका नगरप्रमुख गणेशबहादुर शाहीले बताए।

सम्बन्धित शीर्षक