सल्यानमा सेनाले बनायो २५ बेडको आइसोलेसन भवन

नेपाली सेनाले सल्यान जिल्ला अस्पताल हाताभित्र २५ बेडको आइसोलेसन भवन निर्माण गरेको छ। कोरोना संक्रमितलाई राख्न सल्यान अस्पतालमा बेडको अभाव भएपछि अस्पताल परिसरमा सेनाले बनाएको २५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन भवन निर्माण गरेको सबुज गण सिमखर्कका गणपति कञ्चन कृष्ण बस्नेतले बताए। जिल्लामा कोरोना संक्रमण फैलिँदै गएको र अस्पतालमा सीमित बेड हुँदा नगरपालिकाको समन्वयमा नयाँ भवनसहित २५ बेडको आइसोलेसन सेन्टर निर्माण गरिएको उनको भनाइ छ। प्राकृतिक प्रतिकूलता, निषेधाज्ञाका कारण सामान ढुवानीमा समस्या र कोरोना महामारीकै बीचमा १५ दिनको बीचमा आइसोलेसन, ३ शौचालय, एक बाथरुम निर्माण गरिएको बस्नेतले बताए। सहसेनानी दीपक बुढाथोकीको कमान्डमा स्वास्थ्य मापदण्ड पालना गरी भवन निर्माण गरिएको उनको भनाइ छ। उनले भने, ‘बेडको अभावकै कारण कोही नागरिकले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर अस्पताल हाताभित्रै थप आइसोलेसन निर्माण गरिएको छ।’ यसअघि १६ शैय्याको आइसोलसेन रहेको अस्पतालमा थप २५ बेडको आइसोलेसन निर्माण भएसँगै संक्रमितलाई उपचारमा सहज हुने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए। बेडको अभावमा संक्रमितलाई आकस्मिक कक्षमा समेत राखेर उपचार गर्नुपर्ने बाध्यता थियो अब उक्त बाध्यता हट्ने उनले बताए। विश्वभर फैलिएको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर राखी नेपाली सेनाको समन्वयमा आइसोलेसन भवन निर्माण गरिएको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताए। भाइरसको रोकथाम तथा सम्भावित महामारीविरुद्ध प्रभावकारी व्यवस्थापनको लागि नगरपालिकाका श्रमदानबाहेक १५ लाख लागतमा भवन निर्माण गरिएको उनको भनाइ छ। आइसोलेसन भवन निर्माण शारदा नगरपालिकाको १५ लाख र नेपाली सेनाको जनश्रम १० लाख गरी २५ लाख बराबरको लागतमा निर्माण भएको हो।

सम्बन्धित शीर्षक