टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य

कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा आउन थालेको छ । चिकित्सकका अनुसार मृत्युदर र निको भएर जानेको संख्या हेर्दा कोरोना संक्रमण नियन्त्रणमा आउने दिशातर्फ अघि बढेको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्युदर शुन्यमा झरेको बताए । उनले कोरोनाको दोस्रो भेरियन्ट सुरु भए यता अस्पतालमा उपचारका लागि भर्ना भएका मध्ये ४८ जना निको भएर घर फर्किएको जानकारी दिए ।

‘अहिले नै नियन्त्रणमा आएको त भन्न मिल्दैन’, उनले भने, ‘मृत्युदर र निको हुनेको संख्या हेर्दा त्यसतर्फ अघि बढेको हो कि भन्न सकिन्छ ।’

उनले अस्पतालमा रहेको उच्च उपकार कक्ष (एचडियु) मा हाल १२, अब्जरभेसन वार्डमा ११ र कोभिड जनरल वार्डमा ९ जनाको उपचार भैरहेको बताए । उनका अनुसार ती मध्ये ३/४ जनाको मात्रै स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

अस्पतालमा हालसम्म कोरोना संक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन । ती मध्ये ७ महिला र २२ पुरुष रहेको अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै वैशाख २७ गते ८ र वैशाख २६ गते ६ जनाले ज्यान गुमाएका थिए । अस्पतालमा वैशाख १६ गतेदेखी कोरोना संक्रमितको मृत्यु हुने क्रम सुरु भएको थियो ।

अस्तापलमा ज्यान गुमाउनेमा सबैभन्दा धेरै टीकापुर नगरपालिकाका १५ जना रहेका छन् । त्यस्तै जानकी गाउँपालिकाका ७, जोशीपुर गाउँपालिकाका ३, लम्कीचुहा नगरपालिकाका २, भजनी नगरपालिकाका १ र बर्दगोरीया गाउँपालिकाका १ जनाले कोरोनाका कारण अस्पतालमा ज्यान गुमाएका छन् ।

अस्पतालमा धेरैजसो कोरोना संक्रमितले समयमा अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको थियो । चिकित्सकहरुले नै बिरामीलाई समयमा अक्सिजन दिन नसकेका कारण ज्यान जोगाउन नसकेको बताएका छन् ।

‘अस्पतालमा अहिले पनि अक्सिजनको अभाव रहेको छ । अहिले पनि हामीसँग ब्याकअप छैन’ फोकल पर्सन डा. उपाध्यायले भने, ‘सबैभन्दा ठूलो समस्या नै अक्सिजन अभाव हो ।’

अस्पतालमा अक्सिजनको अभाव भएपछि स्थानीयले रकम संकलन गरेर अक्सिजनको जोहो गर्न थालेका छन् । विभिन्न संघसंस्थाहरुले अक्सिजनका लागि अभियान नै थालेका छन् ।

टीकापुर सरोकार समूह, टीकापुर उद्योग वाणिज्य संघ र अस्पतालको संयुक्त पहलमा सुरु भएको अभियानमा हालसम्म ४३ लाख ३० हजार ४१० रुपैयाँ संकलन भएको अभियानका प्रवक्ता परमानन्द पाण्डेले जानकारी दिए । उनका अनुसार अभियान अन्र्तगत हालसम्म ३० थान अक्सिजन सिलिण्डर खरिद गरेर दिनुका साथै ६० हजार पिस सिटामोल समेत अस्पताललाई उपलब्ध गराईएको छ ।

आजै किसान बहुउदेश्यीय सहकारी संस्था लि. ले समेत अस्पताललाई १०० थान अक्सिजन सिलिण्डर रिफिल गरेर दिएको छ । उसले समेत किसान अक्सिजन बैंक सञ्चालन गरेर विभिन्न अस्पताललाई सहयोग गर्दै आएको छ ।

सम्बन्धित शीर्षक