स्ववियू निर्वाचनका लागि जुम्लामा विद्यार्थी संघ संगठनहरुद्धारा उम्मेदवारी दर्ता

त्रिभुवन विश्वविद्यालयले चैत पाँच गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने घोषणा गरेसँगै चुनावी रौनक छाएको छ भने विद्यार्थी संगठनहरुले सक्रियता बढाएका छन् । जुम्ला बहुमुखी क्याम्पसमा शनिबार क्रियाशील विद्यार्थी संगठनहरुले तामझाम सहित उम्मेदवारी दर्ता गराएका छन् । क्याम्पसमा दर्ता भएका विद्यार्थी संगठनहरु प्यानल सहित उम्मेदवारी दर्ताको निम्ति तोकिएको समयभित्र उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक उपप्राध्यापक प्रकाचन्द्र खत्रीले बताउनु भयो । निर्वाचन समितिले तोकेको समय ११ बजेदेखि २ बजेसम्म सम्मर्कमा आई उम्मेदवारी दर्ता गराएको उहाँको भनाइ छ । शान्त वातावरणमा मनोनयन दर्ता गराउने काम सकिएको खत्रीले बताउनु भयो । उहाँका अनुसार, काँग्रेस निकट नेविसंघले सुरुमै उम्मेदवारी दर्ता गराएको छ । नेविसंघले महेश हमालका नेतृत्वमा प्यानल दर्ता गराएको हो । सचिवमा खगेन्द्र उपाध्याय र कोषाध्यक्षमा उर्मिला बुढा रहेको अध्यक्ष पदका उम्मेदवार हमालले बताउनु भयो । उहाँले भन्नुभयो, समग्र क्याम्पसको शैक्षिक उन्नतिका लागि उम्मेदवारी दिएको हुँ । हालसम्म दुईवटा संकायमा मात्रै अध्यापन हुने क्याम्पसमा सबै संकायको अध्यापन गराउनका लागि पहल गर्ने उहाँको भनाइ छ । त्यस्तै, दोस्रोमा एमाले निकट अनेरास्ववियुले उम्मेदवारी दर्ता गराएको छ । लोकेन्द्र बुढाको नेतृत्वमा प्यानल दर्ता भएको हो । अनेरास्ववियुबाट सचिवमा अनिता नेपाली र कोषाध्यक्षमा धन बहादुर बुढाले उम्मेदवारी दिनु भएको छ । उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिदै अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र बुढाले समग्रमा शैक्षिक सुधार, पढनपाठन नियमितता, भौतिक संरचनामा सुधार र छात्रवृत्ति विस्तारका लागि उम्मेदवारी दिएका बताउनु भयो । शैक्षिक सवालमा अनेरास्ववियुले उठाएका मुद्दाहरुले परिवर्तन गराएको भन्दै उहाँले जुम्ला बहुमुखि क्याम्पसको विकास लागि पहल गर्ने बताउनु भयो । त्यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू मिलेर एउटा प्यानल दर्ता गराएको छ । अध्यक्षमा अखिल क्रान्तिकारीबाट विष्णु भण्डारी र सचिवमा जयकृष्ण जैशी तथा कोषाध्यक्षमा अनेरास्ववियूका मेगराज देवकोटा सहितको प्यान दर्ता गराएको अध्यक्ष पदका उम्मेदवार भण्डारीले बताउनु भयो । शैक्षिक सुधारको धरोहरको रुपमा स्थापित अखिल क्रान्तिकारी जुम्ला क्याम्पसको समग्रमा शैक्षिक सुधारको आधारस्तम्भ हो, उहाँले भन्नुभयो, हामीले हाम्रो विचार र सिद्धान्त अनुसार काम गर्ने योजना सहित उम्मेदवारी दिएका हौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रविसंघबाट अध्यक्षमा हरि थापाले उम्मेदवारी दिनु भएको छभने सचिवमा पञ्चकली बुढाले उम्मेदवारी दिनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अखिल क्रान्तिकारी विप्लवबाट रमेश रावत (विक्रान्तले) अध्यक्ष सहित सात सदस्यले उम्मेदवारी दिएका छन् छभने नेमकिपा निकट नेक्राविसंघले सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र विद्यार्थी समूहले कोषाध्यक्ष सहित दुई सदस्यमा उम्मेदवारी दिएका छन् । आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि जुम्ला बहुमुखी क्याम्पसमा आठ वटा विद्यार्थी संगठन र समूह दर्ता भएका थिए । स्ववियु निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा गराउने गरि लागेको निर्वाचनमा समितिका सदस्य सचिव पदम बहादुर शाहीले बताउनु भयो । जुम्लामा यस अघि २०६५ सालमा स्ववियु निर्वाचन भएको थियो । त्यसयता निर्वाचन हुन सकेको थिएन । उम्मेदवारी उपर फागुन २८ गतेका दिनमा दावि विरोधको समय रहेको निर्वाचन समितिका संयोजक उपप्राध्यापक प्रकाचन्द्र खत्रीले जानकारी गराउनु भयो । उम्मेदवारको नामवलि आजै साँझ ५ बजे प्रकाशन भइ सकेको उहाँको भनाइ छ । स्ववियू निर्वाचनमा ७८२ जना विद्यार्थीले भाग लिदै छन् ।

 

सम्बन्धित शीर्षक