कर्णाली प्रतिष्ठानमा अक्सिजन प्लान्ट सञ्चालन र उत्पादन अवस्थाबारे अनुगमन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेको अक्सिजन प्लान्ट सञ्चालन र उत्पादनको अवस्थाबारे अनुगमन गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन समितिका पदाधिकारीबाट अक्सिजन प्लान्ट सञ्चालन र उत्पादनको अवस्थाबारे अनुगमन गरिएको हो । अनुगमनका क्रममा अक्सिजन प्लान्ट सञ्चालन र उत्पादनको अवस्थाको बारेमा जानकारी लिइएको थियो । प्रतिष्ठानका प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीले कम क्षमताको बुस्टर भएकोले अक्सिजन सिलिन्डर भर्न समस्या भइरहेको बताए । उनले भने,‘अहिले प्रति २४ घण्टामा ८ सिलिण्डर भर्न सकिन्छ । बढि क्षमताको बुस्टर भएको खण्डमा २४ घण्टाभित्र ९६ सिलिण्डर भर्न सकिने अवस्था रहन्छ । अक्सिजन प्लान्टबाट सिधैँ एक सय ५० बेडमा अक्सिजन पुगेको छ । ’
कोभिड १९ संकट व्यवस्थापन समितिका पदाधिकारीले कर्णाली प्रतिष्ठानका पदाधिकारी संग भेटघाट गरेका थिए । भेटघाटका क्रममा प्रतिष्ठानका पदाधिकारीहरुले अक्सिजन प्लान्टमा आवश्यक पर्ने बुस्टर खरिदको लागि टेण्डर भइसकेको बताएका थिए । तीन सय सिलिण्डर छिटो खरिद प्रक्रियामा रहेको र हाल अक्सिजन प्लान्टबाट दैनिक ४ वटा सिलिण्डर भर्ने अवस्था रहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ प्रत्येक दिन नेपालगन्जवाट प्रतिदिन २० सिलिन्डर भरी ढुवानी गर्ने व्यवस्था मिलाउन समन्वय गरिएको पाइयो । अक्सिजन उत्पादनका लागि प्रतिष्ठानको तदारुकता देखिएको छ । यो कार्यमा सबैले साथ दिन जरुरी छ । ’ सो अवसरमा नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण शाखावाट पिक आवर वाहेक अक्सिजन प्लान्टमा आपूर्ति व्यवस्था गर्न डिसीसीएमसीबाट निर्णय समेत गरीएको बिषयमा छलफल भएको थियो ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,बाहिनीपति सहयाकरथी यमबहादुर सापकोटा,गणपति दिवाकर रायमाझी,प्रहरी प्रमुख डिएसपी दानबहादुर थापा, सशस्त्र प्रहरीका प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा सहितको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेको थियो । टोलीले कोरोना संक्रमितलाई मध्येनजर गर्दै अक्सिजन उत्पादन र आयतमा पहल गर्न आग्रह गरेको थियो ।

सम्बन्धित शीर्षक