जुम्लामा २८ वर्षीया मेयरको उम्मेदवार जयलक्ष्मी को हुन् ?

लक्ष्मी न्यौपाने,

जुम्ला — जुम्ला चन्दननाथ-७ की २८ वर्षीया जयालक्ष्मी चौलागाईं जिल्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाको मेयरको उम्मेदवार बनेकी छन् । उनले एकीकृत समाजवादी पार्टीबाट नगरको मेयर पदमा उम्मेदवारी दिएकी हुन् ।

झन्डै साढे दुई वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आएकी उनले महिला‚ बालबालिका तथा युवाको क्षेत्रमा काम गरेकी छन् । क्याट नेपाल नामक संस्थासँग आबद्ध भएर बालविवाह, छाउपडी प्रथा, लैंगिक हिंसा, महिला अधिकार, किशोरकिशोरीको पक्षमा वकालत गर्दै आइरहेकी थिइन् ।

‘लामो समय सामाजिक क्षेत्रमा काम गरेँ । नजिकको सरकारको सहयोगीको रुपमा काम गरेकाले सरकार कसरी चलाउन सकिन्छ भन्ने अनुभव छ‚’ जयलक्ष्मीले भनिन्, ‘सिंगो नगरपालिका सामाजिक विकृतिमुक्त बनाउनका लागि मेरो उम्मेदवारी हो ।’

उनले केन्द्रबाट आउने रकम दीर्घकालीन लाभ हुने कार्यमा लगाउँदै स्थानीय स्रोत र साधनको भरपुर सदुपयोग गर्ने र नगरलाई हरेक हिसाबमा आत्मनिर्भर बनाउने सोच रहेको बताइन् । उनले भनिन्, ‘केन्द्र र प्रदेश सरकार सधैं आर्थिक हिसाबले सशक्त हुन्छ भन्ने पनि छैन । आर्थिक संकट चुलिँदो अवस्थामा छ । यहाँको स्रोतहरूको सदुपयोग गरेर नगरको आम्दानी बढाउने कार्य प्राथमिकतामा पर्नेछ ।’

उनले नगर आर्थिक रुपमा आत्मनिर्भर हुनेबित्तिकै नगरभित्रका व्यक्ति बलियो हुने, व्यक्ति बलियो हुनु भनेको गरिबीको अन्त्य हुनु हो । उनले थपिन्, ‘गरिबीको अन्त्य हुनेबित्तिकै हरेक विकृति विसंगति आफैं निर्मूल हुनेछ । युवा, महिलालाई रोजगार दिन सकिने अवस्था आउनेछ । बालअधिकारका क्षेत्रमा काम गर्न सहज हुनेछ ।’

जयलक्ष्मी हाल एकीकृत समाजवादी पार्टीको चन्दननाथ नगरपालिका ७ को वडा संयोजक हुन् । नेसनल ल कलेज काठमाडौंबाट उनले ब्याचलर गरेकी छन् । तीन वर्षअघि उनी काठमाडौंमा कर्णालीका विभिन्न सवाल उठाउँदै विषय विज्ञ बोलाएर छलफलसमेत चलाउँथिन् ।

सम्बन्धित शीर्षक