यार्चा टिप्न गएका २ को मृत्यु

रुकुम पश्चिम — डोल्पाका पाटनमा यार्चा टिप्न पुगेका अर्का एक जनाको मृत्यु भएको छ । यसअघि एक किशोरको मृत्यु भएको थियो । जगदुल्ला गाउँपालिकाको जगदुल्ला पाटनमा रामेछापको उमाकुण्ड गाउँपालिका–७ का २७ वर्षीय कुमार खत्रीको लेक लागेर मृत्यु भएको हो ।

उनी आफ्ना बुबा मानबहादुर खत्रीसहित पाँच महिनाअघि काठको काम गर्न जगदुल्ला आइपुगेका थिए । कोभिड–१९ संक्रमणका कारण यस वर्ष पनि पूर्णरूपमा बन्द गरिएको पाटनमा अवैध रूपमा उनी पुगेको प्रहरीले जनाएको छ । खत्री लेक लागेर सिकिस्तै बिरामी परेपछि उपचारका लागि बोकेर काइगाउँ स्वास्थ्यचौकी पुर्‍याइएको थियो । उनको स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

यसअघि जुम्लाको गुठीचौर गाउँपालिका–३ का १७ वर्षीय सुमन रावलको लेक लागेर मृत्यु भएको थियो । वैशाख १७ गतेको सर्वदलीय बैठकले जेठ १० गतेदेखि यार्चा संकलन खुला गर्ने निर्णय गरेको थियो । कोरोना महामारी बढेको भन्दै वैशाख २६ गतेको बैठकले यार्चा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । डोल्पाका झन्डै २ सय पाटनमा यार्चा पाइन्छ ।

सम्बन्धित शीर्षक