अनुसन्धानमा प्रभावकारीता,स्वास्थ्य सेवामा गुणस्तरीयतामा जोड

लक्ष्मी न्यौपाने,

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलले एक बर्ष निकै उपलब्धिपुर्ण भएको बताएका छन । उनले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा प्रभावकारीता र स्वास्थ्य शिक्षा र सेवामा गुणस्तरीयता कायम गर्न केन्द्रीत रहेको बताएका हुन । कर्णाली प्रतिष्ठानमा उपकुलपति नियुक्त भएको एक बर्षको कामको प्रगति सार्वजनिक गर्दै उपकुलपति डा. रावलले निकै चुनौतिको सामाना गरेर अघि बढेको बताए ।
दुर्गम क्षेत्रको स्वास्थ्य सेवा,शिक्षा र अनुसन्धानमा योगदान दिने अभिप्रायले एक दशक अघि कर्णाली प्रतिष्ठानको स्थापना भएको थियो । अहिले कर्णालीको एक मात्र चिकित्सा शास्त्र अध्ययन,अध्यापन हुने संस्थाको रुपमा परिचय बनाइसकेको छ । उपकुलपति डा. रावलले भने,‘यो एक बर्ष प्रतिष्ठानलाई उत्कृष्ट इच्छा, तीब्र इच्छा शक्ति र ठुलो सपना लिएर अघि बढेको छु । काम गर्ने शिलशिलामा बाधा अवरोधहरु आइपुगे । तर पनि एक बर्षमा कर्णालीको स्वास्थ्य क्षेत्रमा निकै ठुलो उपलब्धि भएको ठानेको छु । उनले शिक्षा,अनुसन्धान, सेवा, भौतिक संरचना र सुशासनका क्षेत्रमा एक बर्षमा भएका उपलब्धि सार्वजनिक गरेका थिए ।
शिक्षा
पहिलो पटक चिकित्सा शिक्षा आयोगवाट एमबीबीएस,बिएनएस र बि फार्मा लगायतका नयाँ कार्यक्रम शुरु भएका छन । यी सबै बिषय अध्ययनका लागि प्रतिष्ठानलाई अनुमति प्राप्त भएको छ । एमबीबीएस २० सीटबाट अध्ययन शुरु भएकोमा सीट बढाउनको लागि पहल भइरहेको उपकुलपति डा. रावल बताउँछन ।
उनले एमबीबीएस लगायतका कार्यक्रमका लागि थप फ्याकल्टीको व्यवस्था भएको र ९३ जना कर्मचारी कार्यरत रहेको जानकारी दिए । एमडीएमएस,एमबीबीएस,बिएनएस,बिएमएस र बिपिएच कार्यक्रम सञ्चालन गर्न गंगालाल हृदय रोग केन्द्र, काठमाडौ,भेरी अञ्चल अस्पताल बाँके,लुम्बिनी अञ्चल अस्पताल बुटवल,शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँके,मिसन अस्पताल पाल्पा,नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी संग सम्झौता गरिएको उपकुलपति डा. रावलले बताए ।
उनले एक बर्षमै हाडजोर्नी बिषयमा स्नाकोत्तर एमएस अर्थोपेडिक को नयाँ अध्ययन शुुुरु गरिएको जानकारी दिएका छन । प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सीप थप परिमार्जित गर्न सिटिएस,एसबीए प्याक्ट तालिम सञ्चालन प्रक्रियामा रहेको छ । उनले भने,‘राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको समन्वयमा ट्रेनिङ साइट बनाउने प्रक्रिया शुरु भएको छ । प्रतिष्ठानमा सेवा र अध्यापनका लागि सरकारको छात्रबृत्ति करारमा रहेका चिकित्सकहरु मन्त्रालयको समन्वयमा प्रतिष्ठानमा काम गराउने व्यवस्थाको विकास भएको छ । आवश्यक जनशक्तिको अभाव हुन नदिनको लागि यसबाट ठुलो साथ मिल्नेछ । ’
प्रतिष्ठानका पठनपाठनका लागि आवश्यक पर्ने बेसिक साइन्सका फार्मेसी लगायतका ल्याव स्थापना गरिएको छ । एमपिएच,एमएससी,इपिडिमियोलोजी,एमएन र ब्याचुलर इन न्युट्रेशन को पाठ्यक्रम तयार पार्ने काम सकिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
अनुसन्धान
प्रतिष्ठानमा स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि रिसर्च युनिट को विकास गर्न बार्षिक बजेटको सुनिश्चित गरिएको छ । प्रतिष्ठानको आइआरसी,रिसर्च युनिट,जेकेएचएस लाई नियमित रुपमा सञ्चालन तथा प्रकाशन गरिएको छ । डा. रावलले् प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले बैज्ञानिक शोधहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरुमा प्रकाशित भइसकेको जानकारी दिए ।
झण्डै २० अनुसन्धान कार्यहरु हाल सञ्चालनमा छन । आवश्यकता र महत्वका आधारमा उत्कृष्ट छानिएको अनुसन्धानकर्तालाई जनही ४० हजार देखि एक लाख २० हजार रुपैया“ सम्म रिसर्च फण्ड प्रतिष्ठानले उपलब्ध गराउदै आएको छ । प्राकृतिक औषधिजन्य जडिबुटीको खानीको रुपमा रहेको कर्णाली क्षेत्रलाई समेटेर अनुसन्धान गर्ने हेतुले विश्व विद्यालय अनुसन्धान आयोग लगायतका संस्थाहरु संग आवश्यक समन्वय भइरहेको उपकुलपति डा.रावलले बताए ।
विश्वविद्यालय अनुसन्धान आयोगबाट अनुसन्धानका लागि अनुदान प्राप्त गरेर हाल ५ वटा अनुसन्धानका कार्य भइरहेका छन ।
सुशासन
प्रतिष्ठानले यो बर्षमा झण्डै दुई बर्षदेखि हुन नसकेको सभाको बैठक गत बैशाखमा सकाएको छ । सभाले रिक्त रहेको सभासदस्य परिपुर्ति गर्नुका साथै लागि प्रतिष्ठानको नीति कार्यक्रम र बजेट पारीत गरेको छ।
प्रतिष्ठानको आकार,आवश्यकता र प्रभावकारीताको आधारमा हाल कार्यरत तीनवटा डिनहरुबाट घटाएर एक जन मात्र मेडिकल डिनको व्यवस्था गरी मितव्ययी र प्रभावकारी प्राज्ञिक क्षेत्र निर्माण गर्ने निर्णय गरिसकेको छ । काठमाडौमा खोलिएको सम्पर्क कार्यालयको क्षेत्र घटाइएको छ । कर्मचारीको संख्या घटाएर एक जना मात्र सहायक स्तरको कर्मचारी रहने व्यवस्था मिलाइएको छ ।
लगातार तीन पटब स्पष्टिकरण सोधिएको कर्मचारीको करारनामा स्वत बदर हुने व्यवस्था गरिएको छ । जसका कारण कर्णाली भरी रहेको एसएसबीएच मार्फतका कर्मचारीको प्रभावकारीता बृद्धिमा सहयोग पुगेको कर्णाली प्रतिष्ठानले जनाएको छ ।
स्वास्थ्य सेवा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा छालारोग,आँखा रोग,नाक,कान, घाँटी,बालरोग,दन्तरोग सेवा विस्तार भएको छ । नाक,कान,घाँटीको अप्रेशन सेवा प्रारम्भ भएको छ । हिस्टो प्याथोलोजी सेवा शुरु भएर सञ्चालनमा छ ।
जन्मेदेखी २८ दिन सम्मका बच्चाहरुको सघन उपचार सेवा नियमित चलिरहेको छ । दोस्रो त्रैमासिकमा गरिने गर्भपतन सेवा नियमित र निशुल्क रुपमा चलिरहेको पनि उपकुलपति डा. रावलले उपलब्धिको रुपमा अघि सारेका छन ।
अस्पतामाल २५ बेडको एचडियु सेवा ५० बेडमा स्तरउन्नती गरिएको छ। ६ बेडको सघन बालरोग उपचार कक्षको उपकरण आएर स्थापना भइसकेको छ । थप ६ बेडको सघन उपचार कक्षको उपचार आएर स्थापनाको क्रममा रहेको छ । १८ वटा भेन्टिलेटर व्यवस्था गरिएको छ । अस्पतालाई पुर्ण डिजिटलाइजेशन तिर लैजाने हेतुले अस्पताल इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रर्णाली जडान गरिएको छ ।
डा. रावलले अस्पतालमा दोस्रो अक्सिजन प्लान्ट जडान गर्न लागिएको जानकारी दिएका छन । गैरआवशिय नेपाली संघबाट प्रदान गरिएको अक्सिजन प्लान्ट दैलेख जिल्लाको राकममा शुरु गर्ने प्रक्रियामा रहेको बताए । अस्पतालमा १८० बेडमा अक्सिजन पाइपलाइन विस्तार गरिएको छ ।
अस्पताल भित्रको फोहोर व्यवस्थापन गर्न फोहार व्यवस्थापन खरिद प्रक्रिय अघि बढाइएको छ । संक्रमण विनाको फोहोर नगपालिकाको फोहोर संकलन केन्द्रमा लैजाने गरिएको छ । अस्पतालले विशेषज्ञ सेवा मुगु र हुम्ला अस्पतालमा दिइरहेको छ । रास्कोट र राकम स्वास्थ्य केन्द्रमा प्रतिष्ठानकै चिकित्सक मार्फत सेवा सञ्चालन भइरहेको छ ।
हुम्ला अस्पतालमा विशेषज्ञ सेवा,स्त्री तथा प्रसुती र एनएसथेसियालोजिष्ट पठाउनको लागि प्रतिष्ठानले सञ्चालन गर्ने गरि स्वास्थ्य तथा जनसंख्यामन्त्रालय र हुम्ला अस्पतालबीच समझदारी भइसकेको छ ।यो प्रक्रिया छिट्टै कार्यन्वयनमा जानेछ ।
डोल्पा र जाजरकोटमा पोषण सम्बन्धिका तालिम भइरहेका छन । आगामी हप्तामा नेपालगंजमा एसएचबिएच र र धनगढीमा एसबीए तालिम सञ्चालन गर्ने तयारी भइरहको छ ।
भौतिक संरचना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ वटा शैक्षिक कार्यक्रम चलिरहेका छन । तर शिक्षक कर्मचारीहरु भाडामा बस्न बाध्य छन । अहिले प्रतिष्ठानले ६ वटा भवन भाडामा लिएर चलाएको छ । निर्माणाधिन अवस्थामा रहेको बिभागीय क्वाटर र एकेडेमी भवनको काम तीब्र चलिरहेको छ ।
प्रतिष्ठानको गुरुयोजना अनुसार चेरे चौरमा बन्ने भवनहरुको प्रक्रियाका लागि आवश्यक फाइल स्वास्थ्य मन्त्रालयमा र अर्थमन्त्रालयमा छ । प्रक्रियागत स्पष्टता भएमा निर्माण कार्य चा“डै अघि बढ्नेछ ।
राकम कर्णालीमा प्रतिष्ठानको १ सय बेडको अस्पताल निर्माणका लागि ३७ रोपनी जग्गा प्रतिष्ठानको नाममा आइसकेको छ । डिपिआर बन्ने क्रममा छ । गुठिचौर गाउ“पालिकाको धिताचौरमा भवन निर्माणका लागि डिपिआर कार्य सकिएको छ ।
उपकुलपति डा. रावलले मृगेन्द्र सम्झना गुठिको नाममा रहेको घर र जग्गा प्रतिष्ठानको नाममा गरि अतिथि गृह निर्माण गर्ने सम्झौता भइसकेको बताए । उनले मेडिकल कलेज,छात्राबास,अस्पताल तथा शैक्षिक भवन तत्काल निर्माण गर्नुपर्ने भएकोले बजेट व्यवस्थापनको लागि पहल भइरहेको बताए ।
कर्णाली प्रतिष्ठान समग्र कर्णालीको सम्पति भएकोले सबैले साथ र सहयोग गर्नुपर्ने उपकुलपति डा. रावलले आग्रह गरे ।

सम्बन्धित शीर्षक