जुम्लाका साढे ४२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

जुम्लामा साढे ४२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । २५ चैतदेखि आगामी १८ वैशाखसम्म सञ्चालन हुने खोप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका ४२ हजार चार सय २० बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको हो  । यो अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदैछ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सातवटै स्थानीय तहमा खोप लगाउन टोली परिचालन गरिनेछ । खोपका लागिगाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लालबहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

चार वर्षमा टाइफाइडका ३५ सय बिरामी 

जुम्लामा चार वर्षमा टाइफाइटका ३५ सय बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७५–७६ मा ९ सय ७८, आव २०७६–७७ मा १ हजार १ सय ५८, आव २०७७–७८ मा ८ सय ७९ र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी ३ हजार ५ सय ९७ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

नेपालमा पाँच वर्षमा ४ लाख ५० हजार बालबालिका टाइफाइडबाट ग्रसित भएका छन् । टाइफाइड शून्यमा झार्न सरकारले खोप अभियान सञ्चालन गर्दै आएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाका अनुसार दूषित पानी र खानेकुराबाट टाइफाइड संक्रमणको जोखिम रहन्छ । यो रोगका लक्षण ज्वरो आउने,टाउको दुख्ने, पेट दुख्ने, आन्द्रामा समस्या आउने लगायत छन् ।

सम्बन्धित शीर्षक