सामूहिक राजीनामा दिएर अपराध नगर्न प्रधानमन्त्री ओलीको आग्रह (विज्ञप्तिसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहलाई सामूहिक राजीनामा दिएर अपराध नगर्न आग्रह गरेका छन्।

आइतबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्षको नाताले प्रेस विज्ञप्ति जारी गर्दै माधव समूहलाई सामूहिक राजीनामा  दिए त्यसले पार्टीको मात्र नभएर देशकै लागि समेत राम्रो नहुने भन्दै सामूहिक राजीनामा नगर्न आग्रह गरेका हुन्।

‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फलोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् । कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन् । के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ।

उनले जनताको आशा भरोसा र विश्वासको केन्द्र बनेको नेकपा(एमाले)लाई अझ सुदृढ र एकतावद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमुख दायित्व आजको पुस्ताको भएको बताउँदै कम्युनिष्ट आन्दोलनलाई स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउन नहुनेमा जोड दिएका छन्।

सम्बन्धित शीर्षक