दैलेख सदरमुकाममा बाह्र वर्षपछि हिमपात

दैलेख :पछिल्लो समयमा देशका अधिकांश ठाँउमा वर्षा सँगै हिमपात भएको छ । दैलेखमा पनि बिहीबार बिहानैदेखि वर्षा सहित भारी हिमपात भएको छ । यसअघि महाबु, तिनचुले हिमाललगायत दैलेखको उच्च भू-भागमा मात्रै हिमपात भएको थियो । बिहीबार देखिको बर्षातले गुराँस गाउँपालिकाको गुराँसे क्षेत्र, रानीमत्ता, महाबु गाउँपालिकाको महाबुलगायत दैलेख जिल्लाका ११ वटै स्थानीय तहको उच्च भू-भागहरुमा भारी हिमपात भएको हो।

आठबिस नगरपालिका को दह, सिगौडि , तिलेपाटा , नौमूले गाउँपालिकाको तोली, बालुवाटार, भावसैनि , सल्लेरी, चौराठा, भगवतीमाई गाउँपालिकाको रुम, जगनाथ, कट्टी, मेहेल्तोली, मन्घर, वडाभैरब, डुङ्गेश्वर गाउँपालिकाको उम, अवलपराजुलको माथिल्लो भूभाग, गुराँस गाउँपालिकाको गुराँसे, लाँलीकाडा, पिलाडी, घोडाबासलगायतका क्षेत्रमा भारी हिमपात भएको छ ।

यस्तै, महाबु गाउँपालिकाको काशिकाँध, गैडाबाज, रानीवन, टाँकुरि भैरबी गाउँपालिकाको कुसापानी, चामुण्डाविन्द्रासैनी नगरपालिकाको काफलमेला, चापागाउँ, ठाटीकाँध गाउँपालिकाको विशाला, हिमपाईला, बिजारे, तोलीजैसी, र दुल्लु नगरपालिकाको मालिका क्षेत्रमा हिमपात भएको छ।

नारायण नगरपालिकास्थित दैलेख जिल्ला सदरमुकामसहित भवानी तथा आसपासका क्षेत्रमा हिमपात भएको छ । जिल्ला सदरमुकाममा भने झण्डै १२ वर्षपछि सामान्य हिमपात भएको छ । यसअघि दैलेख जिल्ला सदरमुकाममा २०६६ सालमा भारी हिमपात भएको थियो ।

गुराँसे क्षेत्रमा भारी हिमपात हुँदा यातायात सेवा अवरुद्ध भएको छ । दैलेख देखि गुराँसेहुँदै सुर्खेतसम्मको यायातात सेवा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले बताए । हिउँ परेसँगै जिल्लाभर अत्याधिक चिसो बढेको छ ।

रातिदेखि नै हिमपात सुरु भएपछि जनजीवन कस्टकर बनेको छ । हिमपातले एक्कासी बढेको चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् । दैलेखसहित कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, जाजरकोट , अछाम लगाएतका जिल्लामा समेत भारी हिमपात भएको छ ।

सम्बन्धित शीर्षक