चन्दननाथ नगरपालिकाले गर्याे पाँच नगर प्रहरी खुला दरखास्त आह्वान

जुम्ला–जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिकाले पाँच प्रहरी भर्ना गर्न खुला दरखास्त आह्वान गरेको छ । नगर प्रहरी कार्यविधि, २०७७ अनुसार नगर प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको हो ।

यसका लागि नगरपालिकाले १० माघदेखि ११ फागुनसम्म २१ दिने सूचना प्रकाशित गरेको छ । दोबबर दस्तुर तिरेर थप ७ दिनभित्र फाराम भर्न सकिने नगरपालिकाले जनाएको छ ।

चन्दननाथ  प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाका अनुसार नगर प्रहरी कार्यविधि, २०७७ अनुसार काम, कर्तव्य तोकिएको छ । नगर सुरक्षा गर्ने, सवारी साधन पार्किङको व्यवस्थापन गर्ने, सावरी साधन पार्किङको शुल्क संकलन गर्ने र नगर सरसफाइ व्यवस्थापन गर्ने नगर प्रहरीको काम, कर्तव्य र जिम्मेवारी रहने उनले बताए ।

उनले भने, ‘नगर प्रहरीको काम, कर्तव्य पनि करिब करिब नेपाल प्रहरीसँग मिल्दाजुल्दो छ ।’ नगर प्रहरीमा दरखास्त दिने व्यक्ति नेपाली नागरिक हुनुपर्ने, १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको हुनुपर्ने, प्रचलित कानुनद्धारा अयोग्य नठहरिएको हुनुपर्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोग सजाय नपाएको हुनुपर्ने प्रावधान छ ।

यस्तै, कुनै राजनीतिक पार्टीको सदस्यता नलिएको, मानव अधिकार र मानवीय कानुनको उल्लंघनमा सजाय नपाएको, महिलाका लागि घटीमा ५ फिट र पुरुषका लागि घटीमा ५ फिट २ इन्च उचाई भएकाले नगर प्रहरीमा दरखास्त दिन सक्ने नगरपालिकाका प्रशासन प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए ।

महिलाका लागि तौल घटीमा ४२ किलोग्राम, पुरुषका लागि तौल घटीमा ५० किलोग्राम, छाती नफुलाउँदा घटीमा ३१ इन्च र फुलाउँदा ३३ इच्च भएको हुनुपर्ने, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको र स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको हुनुपर्नेछ । नगर प्रहरीको पारिश्रमिक नगरपालिकाले तोकेबमोजिम हुनेछ । कर्मचारी छनोट पद्धति शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा र अन्तर्वार्ता हुने नगरपालिकाले जनाएको छ ।

नगर प्रहरी जवानका लागि दरखास्त शुल्क ३ सय रुपैयाँ तोकिएको छ । शैक्षिक योग्यताका प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र र सेवानिवृत्त भुतपूर्व प्रहरी कर्मचारीको हकमा ४० वर्ष उमेर ननाघेको, सो्सम्बन्धी प्रमाण खुल्ने आवश्यक कागजात पनि समावेश गर्नुपर्ने व्यवस्था छ ।

पालिका खवर बाट साभार

सम्बन्धित शीर्षक