सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीद्वारा सचेतना


जुम्ला । ट्राफिक प्रहरी कार्यालय जुम्लाले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना प्रदान गर्न थालेको छ । सदरमुकाम खलंगादेखि कर्णाली राजमार्गका दुर्घटना सम्भावित क्षेत्रमा होडिङबोर्ड राख्ने, घुम्तीमोडमा ट्राफिक चिन्ह राख्ने र ट्राफिक नियमको पालना गर्ने बारेमा सवारीचालक र व्यवसायीलाई जनचेतना प्रदान गर्न थालेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक विमलकुमार रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले कर्णाली राजमार्गको जुम्ला खण्डमा प्रत्येक दिन ट्राफिक प्रहरीले चेकजाँच गर्न थालिएको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम मिच्ने सवारीचालकलाई कारबाही मात्र गरेको छैन । उनीहरूलाई सवारीसाधन चलाउँदा अपनाउनुपर्ने नियमका बारेमा सचेत सिकाउने गरिएको छ । सवारी चालक अनुमतिपत्र बोक्न, सवारीसाधनको बिलबुक लगायतका कागजात बोकेर हिँड्न र कम गतिमा सवारीसाधन चलाउनको लागि सडकमै खटिएर ट्राफिक प्रहरी कार्यालय जुम्लाले सचेतना फैलाउँदै आएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक रावतले बताउनुभयो ।’

सडकमा तीव्र गतिले सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढेको छ । तीव्र गतिले सवारीसाधन नचलाउन र सवारीसाधनका कागजात लिएर यात्रा गर्नको लागि सुझाव दिइँदै आएका छौँ । अटेर गर्ने सवारीचालकलाई कार्वाहीसमेत हुने गरेको छ । पछिल्लो समयमा ट्राफिक सचेतना फैलाउन थालेपछि सवारी दुर्घटना कम हुँदै गएको छ । जिल्लाको सदरमुकाम खलंगका विभिन्न चौकमा ट्राफिक प्रहरी लाग्ने गरेको छ ।

कर्णाली राजमार्गको तातोपानी र तिला गाउँपालिका खण्डमा नियमित चेकजाँच गर्न थालिएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो समयमा सदरमुकामका क्षेत्रमा सवारी पार्किङ क्षेत्र तोकेर व्यवस्थित गर्न थालिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा सवारी दुर्घटना न्यूनीकरणको लागि लभ ३० को अवधारणाअनुसार विभिन्न स्थानमा लभ ३० का होडिङ बोर्ड राखिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । सवारीसाधन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाले ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंले बताउनुभयो ।

जुम्लामा सवारीचालक भेला गराएर, सडक आसपासका गाउँमा पुगेर र विभिन्न जनचेतनामूलक भिडियो देखाएर ट्राफिक नियमका बारेमा जनचेततना जगाउने कार्यमा लागिपरेको ट्राफिक प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सम्बन्धित शीर्षक