कर्णाली प्रदेश सरकारले खेलाडीद्वय सुनमाया र विष्टलाई पुरस्कार दिने

कर्णाली । कर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हासिल गर्ने सुनमाया बुढालाई रु दुई लाख पुरस्कार दिने निर्णय गरेको छ । एशियाको सबैभन्दा लामो ११० किलोमिटर अल्ट्रा ट्रेल रेस प्रतियोगतामा महिलातर्फ प्रथम र समग्र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गर्ने बुढा जुम्ला पातारासी गाउँपालिका निवासी हुनुहुन्छ । बुढाले थाइल्याण्डमा आयोजित उक्त प्रतियोगितामा दुई हजार प्रतियोगीलाई पछि पार्दै प्रथम हुनुभएको थियो । आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक तथा मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले प्रोत्साहनस्वरुप रु दुई लाख पुरस्कार दिने निर्णय गरेको हो ।

उक्त बैठकले बन्दै गरेको प्रदेश रङ्गशालामा नेपालकै पहिलो भलिबलको कभर्डहल निर्माण गर्ने र हालै बङ्गलादेशमा सम्पन्न भलिबल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगिताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई रु ५० हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकमा मुख्यमन्त्री शाहीले प्रदेश रङ्गशाला निर्माण नहुँदासम्म वीरेन्द्रनगरस्थित कालिञ्चोक मैदानलाई वैकल्पिक खेलकुद मैदानका रूपमा प्रयोग गर्न र प्रदेश गौरवको एकमात्र आयोजनालाई समयमै निर्माण पूरा हुने गरी कार्ययाोजनासहित काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले मङ्सिर २० गते शिलान्यास गरिएको प्रदेश रङ्गशाला निर्माणको प्रगतिका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएको बताउनुभयो । सदस्यसचिव सञ्ज्यालले रङ्गशालाको निर्माणकार्य सुरु भएको २८ दिनको अवधिमा माटो परीक्षण, डिप बोरिङ, विद्युत् टान्सफर्मर राख्ने र साइट घेरबारको काम भइरहेको जनाउनुभयो ।

सम्बन्धित शीर्षक