बाढीले गाँस खोस्यो, बास रहेन

जुम्ला तिला गाउँपालिका ४ का कर्णबहादुर हमालको बाढीले घर बगायो। उनी अहिले ओढारमा बसिरहेका छन्। बाढीले ६ मुरी खेत कटान गरेको थियो। नजिकैको खेतमा लहलह धान झुलिरहेका थिए। भर्खर धान पाकेर काट्ने समय आएको थियो। बाढीले बगायो। अहिले उनको गाँस पनि खोसिएको छ। बास पनि बगाएको छ। उनले भने, ‘म विस्थापित भएको छु। बाढीले घर बगायो। पाक्न लागेका धान पुरिदियो। अब के खाउँको अवस्थामा पुर्याइदियो।’

तिला गाउँपालिका ४ रावतबाडाकी चन्द्रकला योगीको ८ भारी खेत बगायो। उनी अहिले खाद्य संकट हुने भन्दै चिन्तित छिन्। उनको गाउँका पुलपुलेसा बगाएको छ। गाउँदेखि खेतवारीसम्म जानसमेत सकस भएको छ। उनले् भनिन्, ‘यो बाढी कहाँबाट आयो पत्तो भएन। एक्कासी खेत कटान गरेको र धान बगाएको मात्र देखियो। यो निकै दुःखको बिषय हो।’

तिला गाउँपालिका ४ नुवाकोट गाउँमा बाढीले २९ जीउला खेत बगाएको छ। २९ सिचाइकुला कुनै अवशेष नराखेर बगाएको छ। नदी आसपासका न खेतको कुनै निसाना छ, नत धान खेत नै। पूरै खेतबारी बगाएको छ। गाउँले भोकमरी हुने चिन्ताले पिरोलेको बताउँछन्। स्थानीय रामप्रसाद चौलागाई बाढीले मानवीय क्षति नभए पनि बालीनालीको सत्यनास बनाएको बताउँछन्।

उनको गाउँमा दुई विद्युत हाउस बगाएको छ। जसका कारण गाउँ अन्धकार छ। ७ वटा घट्ट, २ वटा मिल, तीनवटा घर, विद्यालय भवन ३ वटा, शौचालय दुइवटा, काठेपुल २ वटा, चारवटा स्याउ नर्सरी र एकवटा ओखर नर्सरी बगाएको छ। ५ वटा स्याउ बगैचा तहसनहस बनाएको छ। बाढीले ५ घर उच्च जोखिममा छन्। १५० घर जोखिममा रहेको उनले बताए।

मन्दिर एक वटा र खानेपानी पुर्णरुपमा क्षति भएको स्थानीय देवीप्रसाद चौलागाई बताउँछन्। उनले भने, ‘गाँस खोसियो। बास बगायो। यस्तो संकट जीन्दगी भरी भोग्नु परेको थिएन।’

बाढीले जुम्लाको हिमा गाउँपालिका ६ निवासी रत्ना शाहीलाई बगाएको छ। उनी दाउरा निकाल्न नदीमा गएको समयमा बगाएको हो। तिला र भेरी खोलाको बहाव बढ्न गई नदी छेउछाउका १८ हेक्टर कालीमार्सी धानमा क्षति भएको छ।

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रर्साइले तातोपानी र तिला गाउँपालिकामा १५२ वटा भेडाबाख्रा र तातोपानीमा भेडाको रेखदेखका लागि राखिएका तीन कुकुर बाढीले बगाएको बताइन्।

तातोपानी गाउँपालिकाको वडा नम्बर ४ को नेत्र ज्योति मावि हाँकुको पक्की भवन, ८० थान डेक्स र पाँचसय मिटर घेरवार, तातोपानी ८ को १४० र १५० वाटको माईक्रो विधुत पावर हाउस पनि बाढीले बगायो। ६ वटा काठेपुल,  ४० लाखको लिप्ट सिचाई कुलो, खानेपानी ट्यांकी, पाईप लाईन, कालिका माविको खेलमैदान, १५० मिटर सडक, २ तले घर भत्काएको छ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने तातोपानी गाउँपालिकामा ठूलो क्षति भएको भन्दै प्रारम्भिक तथ्यांक संकलन भइरहेको बताउँछन्। जिल्लामा सबैभन्दा बढी तिला गाउँपालिकामा बाढीले क्षति पुगेको छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले अहिले सम्मको प्रतिवेदन अनुसार २९ सय हेक्टर धान फल्ने क्षेत्र भएको मध्ये १३ हेक्टर मार्सीका खेत बगेका छन्। ५ हेक्टर खेत डुबेका छन्। बाँकी सवै धान भिजेका छन्। जिल्लाको नौसय हेक्टर धान काट्न रहेको छ। केही वर्षाले भिजेर धान बिग्रिएको छ। केही बाढीले बगाएको छ।  प्रमुख देवकोटाले भने, ‘कृषिमा मात्र बाढीले ६ करोड रुपैयाँ माथिको क्षति पुगेको छ।

सम्बन्धित शीर्षक