कर्णालीमा बाढी पहिरो वितण्डा : आठ जनाको मृत्यु, तीन सय परिवारलाई सारियो

  ।   ३ कार्तिक २०७८, बुधबार १७:४२

सुर्खेत। कर्णाली प्रदेशमा आइतबार साँझदेखी एक्काशी अविरल वर्षातका कारण जनजीवन प्रभावितसँगै मानवीय क्षति समेत भएको छे । सोही दिनदेखीबाट परेको लगातार भारी वर्षापछि प्रदेशमा बाढी– पहिरोमा परेर बुधबारसम्म ८ जनाले ज्यान गुमाएका छन् भने तीनसय बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

बाढी–पहिरोमा परि मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४, खर्पेल गाउँका एकै परिवारका ६ जना, जुम्ला र कालिकोटका एक÷एकजना रहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनकाअनुसार बाढी र पहिरोबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा कालिकोट रास्कोट नगरपालिका–८, पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीय बाँचु न्यौपाने छन् । उनीहरु गोठबाट घर जाने क्रममा पहिरोमा परी घईते भएका हुन् । नन्दुको दुबै खुट्टामा चोट लागेको र उनको रास्कोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सुर्खेतका पञ्चपुरी नगरपालिका–११, स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गंगाप्रसाद जैशीको सकुशल उद्दार गरिएको छ । सुर्खेतको कुईनबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदार समेत रहेका शर्मा नदीले बगाएका सामान बचाउने क्रममा बगेका थिए ।

जुम्ला र सुर्खेतमा कृषकले लगाएको धानबालीमा ठूलो क्षती पुगेको छ । प्रदेश प्रहरीका अनुसार बाढी–पहिरोबाट प्रदेशमा ४ वटा गाई, तीनवटा बाच्छा र १३१ भेडाबाख्रा मरेका छन् । प्रदेशको कालिकोट, जुम्ला र मुगुका गरि १३८ पशुचौपाया मरेको प्रहरीले जनाएको छ । जुम्लामा मार्सी धानकाे खेतबारी नै तीला नदीले कटान गरेकाे छ ।

३ सयबढी नागरिकलाई सुरक्षित स्थानमा सारियो

प्रदेशभर बाढी–पहिरोका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –४ झालाका ११ घरधुरीका ७९ जना परिवारलाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको छ ।

कर्णाली नदीमा आएको बाढीका कारण डुवानमा परेको दैलेखको रामाघाट बजार ।

त्यस्तै कालिकोटको राम्नि बस्तीका साढे २ सय परिवारहरुलाई स्थान्तरण गरिएको छ । उनीहरुलाई राम्नि माद्यामिक विद्यालय र त्यहाँको एक स्वास्थ्य चौकिमा राखिएको प्रहरीले जनाएको छ । यस्तै दैलेखको रामाघाट बजार डुबानमा परेको छ । आठबिस नगरपालिका—१, मा रहेको उक्त बजारमा कर्णाली नदी पसेको छ । स्थानीय वासिन्दाहरुको सहयोगमा प्रहरीले २०÷२५ घर दुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

राजमार्ग अवरूद्ध

लगातारको वर्षाका कारण पहिरो आएपछि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग ठाउँमा अवरूद्ध भएको छ । दैलेख, कालीकोट र जुम्ला सड्क खण्डका चार ठाउँमा पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको प्रदेश प्रहरीले जनाएको छ । दैलेख खण्डमा खिड्कीज्युला, घट्टेखोला, कालिकोटको जिते, खाँडाचक्र नगरपालिका क्षेत्र, तिलागुफा तिलागुफा नगरपालिका ४ धनाडा र जुम्लाको हिमा गाउपालिका १ स्थित बड्की गाउँमा पहिरो खसेको छ ।

यो राजमार्गको पहिरो गएको अन्य सबै ठाउँको हटाएपनि तिलागुफा नगरपालिका ४ धनाडामा फेरि पहिरो खसेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले बताए । दसैँ मनाएर प्रदेश राजधानी वीरेन्द्रनगर फर्किने र कालिकोट, जुम्ला लगाएत हिमाली जिल्लाहरुमा जाने यात्री बीचबाटोमा अलपत्र परेका हुन् । राप्ती लाेकमार्गकाे सल्यान खण्डकाे कपुरकाेट क्षेत्रमा पहिराे जाँदा साे राजमार्ग पनि केही बेर अवरूद्ध भएकाे थियाे ।

Next Post

धारिलो हतियारले प्रहार गरी श्रीमतीको हत्या

३ कार्तिक २०७८, बुधबार १७:४२
सल्यान : कुमाख गाउँपालिका-५ तिमिलेका ४७ वर्षीय कविराम खड्काले धारिलो हतियारले प्रहार गरी आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी अर्जुन पौडैलका अनुसार घरायसी विवाद हुँदा कविरामले मंगलबार राति कलीको टाउको र घाँटीमा हतियारले प्रहार गरेका थिए। कविरामले मदिरा सेवन गरेको प्रहरीले बताएको […]