आगलागी भएको स्थानमा पुग्यो प्रहरी,आगो नियन्त्रणमा

जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले जलेर नष्ट भइसकेको बाहेक अरु घरमा आगो लाग्ने अवस्था छैन । डिएसपी थापाले भने,‘आगो लागेर जलेको बाहेक अब आगो नियन्त्रणमा आइसकेको छ । गोठ र बस्तीमा लागेको बाहेक जंगलमा आगो लागिरहेको छ । ’
मुल्लीमा आगो लागेको खबर पाउने बित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली राति १० बजे नै आगलागी स्थलमा परिचालन भइसकेको थियो । टोली ८ घण्टा पछि मात्र घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
विहान सेटमा सम्पर्क भएको थियो । अन्नपात राखेको घर जलेर नष्ट भएको, मानवीय र चौपायको क्षति नभएको खबर प्राप्त भएको छ, डिएसपी थापाले भने,‘आगो नियन्त्रणमा आइसकेको छ । क्षतिको एकिन विवरण टिपेर मुचुल्का गर्न निर्देशन दिइएको छ ।’
घटनास्थलमा फोन र सेट दुबैले काम नगर्ने भएकोले ढिलो रिर्पोट आएको छ । तिला गाउँपालिका ९का वडाध्यक्ष शेरबहादुर बोहोराले बस्ती नै जले पछि गाउँ शोकाकुल बनेको बताए । उनले भने,‘बस्ती जलेर खरानी भइसकेको छ । अब सबै सरकारले राहत र उद्धारका कार्यमा सहयोग गर्नुपर्छ । ’
बस्तीमा पानीको अभाव भएकोले आगो निभाउन सकिएको थिएन । आगो निभाउनका लागि माटो प्रयोग गरिएको थियो । ढिपु गाउँ देखि झण्डै डेढ घण्टाको बाटो हिडेर मुल्लीमा पुगिन्छ ।

सम्बन्धित शीर्षक