सिम्रिककाे सुर्खेत-बडीमालिका ”दशैँ हाेलिडे” सेवा, यस्ताे छ भाडादर

सुर्खेत । सिम्रिक एयर प्रालिले सुर्खेत–बडीमालिका दर्शन फ्लाईट शुरु गर्न लागेको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै प्रालिले आउँदै गरेको (घटस्थापना) असोज २१ गतेदेखि सुर्खेत बडीमालिका दर्शन फ्लाईट शुरु गर्न लागेको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई बेश क्याम्प बनाएर हेलिकप्टर सेवा शुरु गरेको प्रालिले सुर्खेत–बडीमालिका दर्शन फ्लाईट शुरु गर्न लागेको प्रालिका बजार विभाग प्रमुख योगेश सापकोटाले बताए । उनले पश्चिम क्षेत्रका नागरिकको आवश्यकता र मागलाई मध्यनजर गर्दै चाडपर्व लक्षित (होलिडे) हेलिकोप्टर सेवा शुरु गर्न लागिएको जनाए ।

‘सुर्खेत विमानस्थलबाट बढीमालिका पुग्न करिब ४५ मिनेट लाग्ने गर्दछ,’ उनले भने, ‘पाँच जना चढ्न मिल्ने हेलिकोप्टरको दुईतर्फी (आते जाते) प्रतिउडान २ लाख ५० हजार रुपैयाँ मात्र भाडा निर्धारण गरिएको छ ।’ उनले चाडपर्व विदालाई उपयोगी बनाउन चाहने नागरिकका लागि सुर्खेत–बडीमालिका दर्शनसँगै हिमशिखरहरुको समेत अवलोकन गर्न पाउने बताए ।

उनका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश भित्र रहेका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सस्तोमा सुर्खेत–बडीमालिका दर्शन फ्लाईट शुरु गरिएको हो । उनले प्रदेश भित्र रहेका धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रको प्रर्वद्धन र विकासका लागि नियमित उडान गर्न चुनैती रहेपनि प्रदेश सरकारहरुले वाह्य पर्यटक आर्कषित गर्न आवश्यक नीतिसँगै प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार यात्रुको चापलाई हेरेर सुदूरपश्चिम तथा कर्णालीका प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरुमा समेत उडान गर्न सकिने छ । यसअघि सिम्रिक एयरले सुर्खेत बेस क्याम्प बनाएर कोभिड तथा अन्य अत्यावश्यक बिरामीका लागि आधुनिक उपकरण, दक्ष डाक्टरसँगै एयर एम्बुलेन्स सेवा शुरु गरेको थियो । सिम्रिक एयरसँग हाल पाँच वटा हेलिकप्टर रहेका छन् ।

सम्बन्धित शीर्षक