सार्वजनिक सवारी साधनका लागि कालिकोटले निर्धारण गर्यो नयाँ भाडा दर

कालिकोट । यातायात व्यावसायीहरुले मनोमानी रुपमा भाडा असुल्ने गरेर यात्रुहरु मर्कामा परेको महसुस गर्दै कालिकोटमा सार्वजनिक सवारी साधन सञ्चालनका लागि नयाँ भाडा दर कायम गरिएको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटमा आइतबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले भाडा दर निर्धारण गरेको हो । नेपाल सरकारले २०७८ साउन २९ गते गरेको निर्णयका आधारमा कालिकोटदेखि सुर्खेत सानो सवारी साधनका लागि १२ सय,मझौला सवारी साधनका लागि १ हजार ३० र ठूलो सवारी साधनका लागि ८ सय ४० भाडा तोकिएको छ । नयाँ निर्धारित भाडा दर अनुसार ठूलो सवारी साधनमा प्रतिकिलोमिटर ५ रुपैयाँ ३६ पैसा ,मझौला सवारी साधनमा ६ रुपैयाँ ६० पैसा र सानोमा प्रतिकिलोमिटर ७ रुपैयाँ ७५ पैसा भाडा कायम गरिएको छ । राजनीतिक दलका नेताहरू,ट्राफिक प्रहरी,सुरक्षा निकायका प्रमुख,पत्रकार,उधोगी व्यापारी र यातायात सञ्चालकहरु बिच सम्पन्न बैठकले सवारी साधन र टिकट काउन्टरमा अनिवार्य रुपमा भाडादर टाँस गरिनुपर्ने र यात्रुलाई अनिवार्य टिकट उपलब्ध गराएको हुनुपर्ने निर्णय गरेको नेकपा(एकीकृत समाजवादी)कालिकोटका सचिव चित्रसिंह गाउँलेले जानकारी गराउनुभयो । यसका साथै बैठकले लालिघाट देखि जारकोट हुँदै थिर्पु जाने सडकका लागि ४ किलोमिटर सम्मलाई रु ५० र त्योभन्दा बढीको दुरीमा प्रति किलोमिटर रु १४ का दरले भाडा निर्धारण गरेको छ । यस्तै मान्मबाट शेरावाडा हुँदै नाग्म र जिते जाने खण्डको लागि ४ किलोमिटर सम्मलाई रु ३० र त्योभन्दा बढी भएमा प्रतिकिलोमिटर रु ७ रुपैयाँ ७५ पैसा भाडा दर निर्धारण गरेको बताइएको छ । भाडा निर्धारणका साथै सडक सुधार गरि यात्रुलाई सहज रुपमा यातायात सुविधा पुर्याउन दैखोलादेखि नाग्मका साथै लालिघाटदेखि जारकोट हुँदै थिर्पु सडकखण्ड दशैं अगाडिनै मर्मत गराउने निर्णय भएको छ । भाडा दर कडाइका साथ कार्यान्वयन गर्न ट्राफिक प्रहरीको अनुगमन जारी राख्ने तथा जिरोप्वाइन्ट बजारदेखि टिकट काउन्टर सञ्चालन र गाडी पार्किङ ताडी बसपार्कमा सार्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ । कालिकोट खण्डको सुनारखोला,सिम्लेगाड लगाएतको खण्डका सडक निर्माण गर्ने निर्माण व्यावसायीलाई झिकाई सार्वजनिक सुनुवाइ गर्ने समेत बैठकको निर्णय छ ।

सम्बन्धित शीर्षक