हुम्ला जाेड्ने सडकले गति लिदै : अप्ठेराे खण्ड सेनाकाे जिम्मा

  ।   ७ आश्विन २०७८, बिहीबार २०:००

हुम्ला । कर्णाली करिडोरअन्तरगत हुम्ला खण्डको सर्केगाड गाउँपालिकाको दुल्लीकुनादेखि खार्पुनाथ गाउँपालिकाको लाली बगरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णयको हुम्लावासीले स्वागत गरेका छन् । अप्ठेरो खण्डको काम सेनाबाट समयमै सम्पन्न हुने यसअघिको नजिरलाई ध्यानमा राख्दै सरकारले सेनालाई नै निर्माणको जिम्मा दिने निर्णय गरेपछि हुम्लाबासी उत्साही भएका हुन् ।

पूर्वमन्त्री एवं कर्णाली प्रदेश सभाका सांसद जीवनबहादुर शाहीले असजिलो र चट्टानी खण्डको सडक निर्माणको काम नेपाली सेनालाई दिने निर्णयले अब यसै आर्थिक वर्षमा सरकारको लक्ष्यअनुसार सदरमुकाम सिमकोट राष्ट्रिय सञ्जालसँग जोडिने बताए । उनले जिल्लाका जनप्रतिनिधिहरू र राजनीतिक दलहरूको आवाजलाई सरकारले समयमै सुनुवाइ गरेको बताए । यसले हालसम्म देशकै एकमात्र सदरमुकाम सडक सञ्जालसँग नजोडिएको जिल्ला भन्ने उपमा हटाउने कार्य गरेको उनको धारणा छ।

मंगलबार सरकारले मन्त्रिपरिषदले सात किलोमिटर लम्बाइ पर्ने उक्त असजिलो खण्डको काम सेनालाई दिने निर्णय गरेको थियाे । निर्णयले कर्णाली प्रदेशकाे जीवनरेखाकाे रूपमा रहेकाे करिडोरलाई पूर्णता दिने काम भएको शाहीले बताए । उनले अब सेनालाई सबै सहयोग गरेर तत्काल काम अगाडि बढाउनुपर्ने बताए ।

हुम्ला जिल्लाका सांसद छक्कबहादुर लामाले सरकारको निर्णयले निर्माण कम्पनीबाट ढिलो र समयमै काम सम्पन्न नहुने हालसम्मको भोगाइलाई बिदा दिएर छिटो काम गर्न, दिगो र टिकाउ सडक निर्माणमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे । अब चाँडै सदरमुकाम सडक सज्जालसँग जोडिने बताउँदै उनले हाल सेनालाई जिम्मा दिने निर्णय भएको सडक दीर्घकालीन महत्त्वको हुने बताए । सडक निर्माणको दूरी छोटो भए पनि कठिन क्षेत्रमा पर्छ । उनले यो हुम्लावासीको निकै अघिदेखिको माग भएको बताए ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले वर्षौंसम्म निर्माण कम्पनीको जिम्मा रहेको सो खण्डको काम निर्माण सुरु नभइरहेको बेला सेनाले काम गर्ने बाटो सरकारले खोलिदिएपछि हुम्लावासीमा उत्साह छाएको बताए । नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला सडक आयोजनाका प्रमुख मिलन कार्कीले सरकारले निर्णय गरेको र अब सडक विभागको पत्रको प्रतीक्षामा रहेको बताए ।

सडक विभागबाट काम जिम्माको परिपत्र आउनेवित्तिकै काम सुरु गर्ने उनले बताए । हुम्ला खण्डको सलीसल्लादेखि गिउसीसम्मको १२ किलोमिटर सडकको हिल्सा-सिमकोट सडक आयोजनाले ट्र्याक खुलाउने कार्य पूरा गरिसकेको योजना प्रमुख बिसनदास लामाले बताए ।

गिउसीबाट लाली बगरसम्मको ११ किलोमिटर सडकको सात किलोमिटर सेना र बाँकी आयोजनाले गर्ने उनले बताए । यता लालीबगरदेखि खार्पुसम्मको १२ किलोमिटर सडकको पनि ट्र्रयाक खोल्ने कार्य पूरा भएको छ । २०७० सालदेखि निर्माण गरिरहेको सेनाले सो सडकको निर्माण सम्पन्न भएपछि गत असार ३१ गते सडक विभागअन्तर्गतको हिल्सा-सिमकोट सड़क आयोजनालाई हस्तान्तरण गरिसकेकाे छ ।

सेनाले सो खण्डको कालीकोटको खुलालुहुँदै हुम्ला जिल्लाकाे सलीसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडकको निर्माण पूरा गरेको थियो । निर्माण भएको कुल सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर निर्माण भएको सडक पर्छ । हुम्ला खण्डको निर्माण २०७३ चैत ९ बाट सुरु गरिएको थियो । सो खण्डमा सेनाले हाल पहिरो पन्छाउने, भत्केका पर्खाल लगाउने र मर्मतको कार्य गरिरहेको छ ।

Next Post

मनमोहन स्मृति प्रतिष्ठानको भवन सिलान्यास

७ आश्विन २०७८, बिहीबार २०:००
कालिकोट । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाही, विरिष्ट नेता तुलाराज विष्ट तथा अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा भवनको सिलान्यास गरिएको छ । पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको सम्झनामा निर्माण हुन थालेको मनमोहन स्मृति प्रतिष्ठानका लागि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका जनप्रतिनिधि,नेता तथा कार्यकर्ताहरुले आर्थिक र भौतिक सहयोग गर्ने […]

सम्बन्धित