व्यावसायिक कृषिले आत्मनिर्भर बनेको कपुरकोट

  ।   ७ आश्विन २०७८, बिहीबार १९:५८

सल्यान : जिल्लाको कपुरकोट गाउँपालिकाका खड्कबहादुर ओली हिजोआज बारीमा लटरम्म फलेका ताजा तरकारी बिक्री गर्न व्यस्त छन्।

बारी नै रातो हुने गरी फलेको टमाटर, बन्दा गोपी, घिउ सिमी कृषि उपज संकलन केन्द्र कपुरकोटसम्म ल्याउन उनीसँगै उनको सबै परिवार व्यस्त रहेको छ।

बेमौसमी तरकारी खेती गर्दै आएका ओलीले अहिलेसम्म झन्डै ५लाखको तरकारी बिक्री गरी सकेका छन् भने अझै एक दुई लाखको तरकारी बिक्री हुने तयारीमा रहेको छ।

कपुरकोटकै वीरबहादुर बुढाथोकीले पनि ताजा तरकारी बिक्रीबाट हालसम्म ४ लाख हात पारी सकेका छन्। जेठ देखि भदौको अन्तिमसम्मको आम्दानी रहेको उनको भनाइ छ। विगत १० वर्ष भन्दा बढी समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका बुढाथोकीले छोराछोरीको शिक्षादीक्षा देखि लिएर घर खर्चसम्म यही तरकारीबाट आएको आम्दानीले गर्दै आइरहेका छन्।

उनले भने, ‘पहिले पहिले काम खोज्न अन्यत्र जानुपर्थ्यो तर आजभोलि सिजनमा घरपरिवारले नसकेपछि अरुलाई बोलाउनुपर्छ।’

कपुरकोट गाउँपालिकाका झन्डै  ३ हजार ५ सय घरधुरीले बेमौसमी तरकारी खेती गर्दै आइरहेका छन्। सुख्खा डाँडाको केही हुँदैन भनेर कालापहाड (भारत) लाई रोजगारीको मुख्य स्रोत बनाएका कपुरकोटबासी पछिल्लो समय भने आफ्नै बारीमा सुन फलाई रहेका छन्।

कपुरकोटका लाख आम्दानी नगरेको एक पनि घर नभएको कृषि उपज संकलन केन्द्र कपुरकोटका सचिव तिलक शर्माले जनाए। साबिकका रिम, सिनवाङ्ग, धनवाङ्ग र गर्पा गाविसका सबै घरधुरीले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आइरहेको उनको भनाई छ। ‘यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो। बेमौसमी तरकारी खेती हुने भएकाले किसानहरुले पनि राम्रो मूल्य पाउँदै आइरहेका छन्’ उनले भने।

कपुरकोट गाउँपालिका भित्रबाट जेठ देखि भदौको अन्तिमसम्म ११ करोडको तरकारी निकासी भई सकेको उनको भनाई छ। ११ करोडको तरकारी जिल्ला बाहिर मात्र निकासी भएको हो। आन्तरिक खपत पनि त्यति नै मात्रामा हुने गर्दछ तर त्यसलाई हामीले समेटेका छैनौँ  शर्माले बताए।

उनले भने ‘पहिले हातमुख जोर्नसमेत समस्या हुने गाउँले अहिले लाखौँ कमाउने भएका छन्।’ किसानहरुलाई अझै कृषिप्रति आकर्षित गर्न यान्त्रिकीकरण र कृषि प्रविधिसम्बन्धी तालिम दिन सके उत्पादनमा वृद्धि आउने उनको भनाई छ।

विगतमा खुला आकाशमा तरकारी खेती गर्ने किसानहरु पछिल्लो समय प्लास्टिक घर निमार्ण गरी तरकारी खेती गरी रहेको उनको भनाई छ। खुला आकासमा भन्दा प्लास्टिक घरभित्र उत्पादन राम्रो हुनुका साथै रोग किराको संक्रमण पनि निकै कम हुने भएकाले प्लास्टिक घर तिर आकर्षित भइरहेको गाउँपालिकाले जनाएको छ।

किसानहरुले उत्पादन गरेको कृषिजन्य उपजलाई सहज बजारीकरणका लागि गाउँपालिकाले किसान र व्यापारीहरु बिच मूल्य निर्धारण गरिदिनेदेखि बजार खोजी दिनेसम्मको काम गर्दै आइरहेको गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले बताए।

गाउँमा अवसर देखेपछि कतिपय सहरबाट फर्किएर तरकारी खेतीमा जुटेको उनको भनाई छ। स्थानीयको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएको बताए। उनले भने ‘हामीले तरकारी उत्पादनलाई बढवा दिएका छौ। कृषि र पर्यटन हाम्रो प्राथमिकता हो।’

 किसानलाई कृषि औजार वितरण, कृषि सडक निमार्ण, संकलन केन्द्र विस्तार लगायतका काम पनि गाउँपालिकाले गर्दै आइरहेको उनको भनाई छ। कपुरकोटमा २०५६ सालदेखि तरकारी खेती सुरु भएपनि ०५८ बाट भने व्यावसायिक तरकारी खेती हुँदै आइरहेको गाउँपालिका अध्यक्ष सेनको भनाई छ।

तरकारी खेती गर्नु भन्दा पहिले यहाँको किसानहरु बाँसबाट बन्ने सामाग्री निमार्ण, अन्तर जिल्ला र भारतमा रोजगारीका लागि जाने गरेका थिए। एउटा सामान्य किसानले पनि एक लाखदेखि १० लाखसम्म आम्दानी गर्दै आइरहेको उनको भनाइ छ।

Next Post

हुम्ला जाेड्ने सडकले गति लिदै : अप्ठेराे खण्ड सेनाकाे जिम्मा

७ आश्विन २०७८, बिहीबार १९:५८
हुम्ला । कर्णाली करिडोरअन्तरगत हुम्ला खण्डको सर्केगाड गाउँपालिकाको दुल्लीकुनादेखि खार्पुनाथ गाउँपालिकाको लाली बगरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णयको हुम्लावासीले स्वागत गरेका छन् । अप्ठेरो खण्डको काम सेनाबाट समयमै सम्पन्न हुने यसअघिको नजिरलाई ध्यानमा राख्दै सरकारले सेनालाई नै निर्माणको जिम्मा दिने निर्णय गरेपछि हुम्लाबासी उत्साही भएका हुन् । पूर्वमन्त्री एवं […]