खेलकुद हब बन्दै जुम्ला

नेपाली सेनाका क्याप्टन गगन महतारा नेतृत्वको अल्ट्रा खेलाडीको टोली खेलकुद अभ्यासका लागि जुम्ला आइपुगेको छ। अल्ट्रा दौड अभ्यासका लागि जुम्ला उपयुक्त हावापानी भएको जिल्ला भएकोले आर्मीक्ल्वको टोली जुम्ला आइपुगेको हो।

खेलकुद अधिकृतसमेत रहेका महताराले १० जना खेलाडी जुम्ला ल्याएका हुन्। उनीहरुको व्यवस्थापन नन्दाबक्स गणले गरिरहेको छ। अहिले उनीहरु दिनहुँ खेलकुद अभ्यास गरिरहेका छन्। कहिले डाडाकाँडा पुग्छन्। कहिले समथर क्षेत्रमा खेलकुद अभ्यास गर्छन्। यहाँ खेलकुद अभ्यास गरेको खेलाडी जुनसुकै क्षेत्रमा हुने अल्ट्रा म्याराथनमा उपाधि चुम्छन् भन्ने विश्वास छ।

धावक हरीबहादुर रोकाया जुम्ला अल्ट्रा खेलका लागि राम्रो अभ्यास स्थल भएको बताउँछन्। उनले भने, ‘जुम्लामा खेल अभ्यास गरिराखेका खेलाडीले जस्तोसुकै हावापानीमा आयोजना हुने म्याराथनमा सफलता हासिल गर्न सक्छन्। त्यसैले जुम्ला अल्ट्रा खेलकुदको हब हो।’

कर्णाली स्पोर्टस क्लव जुम्लाले जुम्लामा खेल अभ्यास गर्नको लागि आएका खेलाडीलाई अबिर खादा लगाएर सम्मान गरेको थियो। कर्णाली खेलकुद परिषद्का सदस्य सरोज शाहीले जुम्ला खेलकुद हबमात्र नभएर खेलकुद पर्यटनको संभावना बोकेको जिल्ला भएको बताए। उनले भने, ‘हरेक एथ्लेटिक्स खेलाडीको जुम्ला रोजाइ बन्छ। यो निकै सकरात्मक पक्ष हो। अब यहाँ आउने खेलाडीको व्यवस्थापन मुख्य चुनौति छ। सरकार, स्थानीय र यहाँका खेलाडी मिलेर यहाँको खेल क्षेत्रलाई उचाइमा पुर्याउनुपर्छ।’

सप्तरी राजविराजका अजित कुमार यादव पनि जुम्लामा खेलकुद अभ्यास गर्न पुगेका छन्। उनी एक्लै जुम्ला पुगे। उनी यसअघि हङकङमा भएको एथ्लेटिक्स खेलमा सहभागी खेलाडी हुन्। हरेक दिन जुम्लामा दौडिरहेका उनी जुम्लामा खेल अभ्यास गरेर उपाधि चुम्ने आशामा छन्। भारतका खेलाडी कुलदीप सिंह जुम्ला खोज्दै आइपुगे। उनी धावक हरिबहादुर रोकायाको सम्पर्कमा पुगे। जुम्लामै बसेर खेलकुद अभ्यास गर्ने इच्छा जाहेर गरे। धावक रोकायाले भने, ‘जुम्ला अल्ट्रा खेलकुदको राम्रो संभावना बोकेको क्षेत्र हो। यही खेल अभ्यास गर्नुस्। स्वदेश तथा विदेशमा हुने इभेन्टमा भाग लिएर उपाधि चुम्नुहोस्।’

जुम्ला अल्ट्रा खेलको लागि विश्वकै उत्कृष्ट स्थान हो। यहाँको हावापानी अल्ट्रा खेल सुहाउँदो छ। धावक हरीबहादुर रोकायाले गिनिजबुकमा नाम लेखाएको भूमि भएकोले पनि यो क्षेत्रमा खेलाडी खेल अभ्यासका लागि आउन चाहेका छन्। जुम्लामा धावक रोकायाले २६ जना खेलाडीलाई खेल अभ्यास गराउँदै आएका छन्। धावक रोकायाले जुम्लामै प्रशिक्षण दिएर हुर्काएका खेलाडीले स्वदेश तथा विदेशमा हुने हरेक इभेन्टमा आफ्नो लोभ लाग्दो प्रतिभा प्रस्तुत गरिरहेका छन्। उनीहरु हारेर फर्केका पनि छैनन्।

सम्बन्धित शीर्षक