सल्यान अस्पतालकाे भेन्टिलेटर एक वर्षसम्म पनि प्रयाेगमा आएन

सल्यान । जिल्ला अस्पताल सल्यानमा एक वर्षदेखि भेन्टिलेटर थन्किएको छ। जनशक्ति र भवनको अभावका कारण ६ वटा भेन्टिलेटरसहित आइसियुका सामग्री थन्किएका हुन।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै संघीय सरकार र प्रदेश सरकारले उपलब्ध गराएका भेन्टिलेटरसहितका सामाग्री कोठामा थन्किएको अस्पतालले जनाएको छ। अस्पतालका तत्कालीन समस्यालाई भन्दा विनाछलफल पठाइएका सामग्री आउँदा प्रयोगविहीन भएको सल्यान जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताए।

उनले भने‚ ‘हामीसँग भेन्टिलेटर सञ्चालन गर्ने न जनशक्ति नै छ न व्यवस्थापनका लागि भवन नै छ।’ अस्पतालका तत्कालीन आवश्यकताभन्दा बाहिरका सामान आउने गरेको शर्माको भनाइ छ।

एउटै भेन्टिलेटरको मूल्य २५ लाख रुपैयाँभन्दा बढी पर्छ। जुन ६ वटा पठाइएको छ। इलेक्ट्रिक आइसियु बेड जुन एउटै बेडको एक लाख देखि २ लाख ५० हजार रुपैयाँसम्म पर्छ। करोडौं खर्च गरेर ल्याएका सामान एक वर्षदेखि प्रयोगविहीन भएको डा.शर्माको भनाइ छ। महत्त्वपूर्ण सामाग्री प्रयोगमा नल्याए सामान आफैं बिग्रिँदै जाने उनले बताए।

यता जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानले भने कोरोनालाई मध्यनजर गरी सामान आएको बताएको छ। संघ र प्रदेश सरकारको नियमित कार्यक्रमअन्तर्गत उक्त समान आएको र आफूहरुलाई उपलब्ध भएको सिलिङलाई परिवर्तन गर्न नसक्ने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए।

जनशक्ति र भवनको अभावका कारण समस्या भएको स्वीकार गर्दै उनले अबको केही समयभित्रै भेन्टिलेटर र आइसियुका लागि भवन निर्माण हुने उनको भनाइ छ। भवन निमार्णका लागि टेन्डर भई सम्झौता समेत भइसकेको बताउँदै उनले भवन निमार्ण तगत्तै ती स्वास्थ्य सामग्री प्रयोगमा आउने दाबी गरे।

कोरोना भाइरसको तेस्रो लहर आउने आँकलनसहित ल्याइएका स्वास्थ्य सामग्री उपयोगमा आउने अस्पताले जनाएको छ। अस्पतालमा ६ शय्याको भेन्टिलेटर र १५ शय्याको आइसियु निमार्ण गर्न प्रदेश सरकारले २ करोड ५८ लाख बढीको स्वास्थ्य सामाग्री पठाएको छ।

सम्बन्धित शीर्षक