कर्णालीका ५५३ वडामा सकियो कांग्रेस अधिवेशन

सुर्खेत।  कर्णालीका पाँच सय ५३ वटा वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न गरेको छ। सल्यानका ८३ वडामध्ये ८२, कालीकोटका ८६, दैलेखका ८६, जाजरकोटका ७७, रुकुमपश्चिम ७३, जुम्लाका ६०, मुगुका ४५ र हुम्लाका ४४ वटा वडामा गरी कुल पाँच सय ५३ वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ।

भदौ १८ गतेदेखि २३ गतेभित्र सबै वडामा अधिवेशन सम्पन्न गरी सक्नुपर्ने कार्यतालिका थियो। सोहीअनुसार कर्णालीका आठ जिल्लामा मात्र वडा अधिवेशन सुरु भएको थियो। कार्यतालिकाअनुसार कर्णाली प्रदेशका दैलेख, कालीकोट, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा कांग्रेसको वडा अधिवेशन सुरु भएको हो।

सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको वडा नं. ११ मा वडा अधिवेशन हुन सकेको छैन। मतदान अधिकृतका कारण तोकिएकै समयमा अधिवेशन गर्न नसकिएको कांग्रेस सल्यानका सभापति गणेश चन्द्रले जानकारी दिए उक्त वडामा शुक्रबार वडा अधिवेशन तोकिएको छ। सल्यानका २० प्रतिशत वडामा निर्वाचन भएको थियो।

‘सर्वसम्मत प्रयास गर्दागर्दै २० प्रतिशत वडामा चुनाव गर्ने अवस्था आयो’, चन्दले भने, ‘ती वडामा पनि वडा सभापतिका लागि मात्रै निर्वाचन भयो।’ सल्यानमा २० प्रतिशत वडामा निर्वाचन भइरहँदा कर्णालीका अन्य जिल्लामा भने कमै वडामा मात्रै निर्वाचन गर्नुपर्ने अवस्था आएको छ। जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ मा भने निर्वाचन गर्नुपर्ने अवस्था आएको कांग्रेसका जिल्ला सभापति दीपबहादुर शाहीले जनाए।

कालीकोटका केही वडामा पनि निर्वाचन गर्नुपरेको छ। ‘८/१० वटा वडामा निर्वाचन भएको छ’, कांग्रेस कालीकोटका सभापति हर्षबहादुर बमले भने, ‘९० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व छानेका छौं।’ सहमतिको प्रयास गर्दागर्दै केही वडामा निर्वाचन गर्नुपरेको उनको भनाइ छ।

कर्णालीका दैलेख, जाजरकोट, रुकुमपश्चिम, हुम्ला र मुगुका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको जिल्ला सभापतिहरुले जनाएका छन्। कर्णालीका दस जिल्लामध्ये सुर्खेत र डोल्पामा क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन अन्योलमा छ।

सम्बन्धित शीर्षक