दैलेखमा एकीकृत समाजवादी रोज्ने २० प्रतिशत मात्र

दैलेख : राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै स्थानीय तहमा पार्टी रोज्न पाउने अवधी सकिँदा दैलेखमा नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने निर्वाचित जनप्रतिनिधिको संख्या मुस्किलले २० प्रतिशत पुगेको छ।

११ स्थानीय तह र जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिको कुल संख्या ३ सय १५ रहेकोमा मंगलबार बेलुकी ५ बजेसम्म ६२ जना निर्वाचित जनप्रतिनिधिले मात्र एकीकृत समाजवादीमा जान चाहेको भन्दै सनाखत गरेका हुन्। त्यसमध्ये एक जना वडाध्यक्ष स्वतन्त्र थिए।

दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र २ का अधिकांश निर्वाचित जनप्रतिनिधि नेकपा एमालेमै रहेका छन्। राजनीतिक हिसाबले आफू क्षेत्र २ मा सुरक्षित रहेको नेकपा एमालेले प्रतिक्रिया दिएको छ।

एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिमा निर्वाचन क्षेत्र १ अन्तर्गत महावु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाही र उपाध्यक्ष प्रेमकुमारी बुढा र दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा छन्।

दैलेखको नारायण नगरपालिका दैलेखकी उपप्रमुख सावित्री मल्लले पनि समाजवादी रोजेकी छन्। क्षेत्र २ अन्तर्गत ठाँटीकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले पनि समाजवादीमा सनाखत गरेकी हुन्।

निर्वाचित वडाध्यक्षमा निर्वाचन क्षेत्र १ अन्तर्गत महावु गाउँपालिका वडा नं ४ का देवबहादुर शाही, वडा नं ५ का जगत हमाल, ६ का डम्बर बहादुर थापा छन्। भगवतीमाई गाउँपालिकाबाट वडा नं २ कर्णबहादुर शाही, ४ का कृष्णबहादुर थापा, ५ का कृष्णबहादुर शाही, ६ का वीरशंकर रोकाए छन्। रोकाए स्वतन्त्र हुन्।

नौमूले गाउँपालिका वडा नं ४ का गजबहादुर ढेंगा र नारायण नगरपालिका वडा नं १ का तीर्थनारायण श्रेष्ठले समाजवादी रोजेका छन्। क्षेत्र २ अन्तर्गत दुल्लु नगरपालिका वडा नं ९ का रणबहादुर बोहोराले पनि समाजवादी रोजेका छन्।

जिल्ला समन्वय समितिका २ जना सदस्यले पनि एकीकृत समाजवादी पार्टी रोजेको र अन्य वडाका सदस्यसमेत गरेर कुल ६३ जनाले समाजवादी रोजेकोमध्ये भैरवी गाउँपालिका वडा नं ५ का वडा सदस्य विष्णुप्रसाद जैसीले समर्थन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखका निमित्त जिल्ला निर्वाचन अधिकृत तीर्थ सुवेदीले जानकारी दिएका छन्।

दुई जनाको सनाखत रोक्न एमालेको निर्देशन

यस्तै, दल रोज्ने अधिकारअन्तर्गत आफ्नो निर्वाचित प्रमाणपत्र र नागरिकतासहित स्वयं व्यक्ति उपस्थित हुनुपर्ने आयोगको प्रावधान रहेको भएपनि भौतिक रुपमा उपस्थित नभएका दुई जना जनप्रतिनिधिको सनाखत गरिएको भन्दै नेकपा एमाले दैलेखले विरोध जनाएको छ।

दिउँसो ३ बजे व्यक्ति आउँदैछन् भनेर एकीकृत समाजवादीका नेताले दुई जना जनप्रतिनिधिको विवरण पेश गरेका थिए तर, साँझ ५ बजेसम्म समय तोकिएको भएपनि ५ बजे ३० मिनेटपछि व्यक्ति उपस्थित भएकाले विवाद उत्पन्न भएको हो।

आयोगले तोकेको मापदण्डविपरीत एकीकृत समाजवादीका नेताले हैकम देखाएको र नियमविपरीत काम गरेकोमा विरोध गर्दै एमाले दैलेखले नीति र नियमविपरीत नजान र समय सकिएपछि सनाखत गर्न आएका प्रतिनिधिलाई मान्यता नदिन निर्वाचन कार्यालय दैलेखको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित शीर्षक